TharuExpress
समाचार

पटेर्वा सुगौलीमा नयाँ प्रहरी निरीक्षक आउँदै, घुस प्रकरणमा तीन प्रहरीमाथि छानबिन जारी

बीरगंज , असोज २०

 

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा नयाँ प्रहरी निरीक्षक (इन्स्पेक्टर)का रूपमा विपन कार्की आउने भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार कार्कीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा काजमा खटाइएको हो।

यसअघि नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, रिजर्भ, काठमाडौंमा दरबन्दी रही नगर प्रहरीमा कार्यरत कार्कीले अब इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रमुखको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।

content left

पटेर्वा सुगौलीमा नयाँ प्रहरी निरीक्षकको जिम्मेवारी हेरफेर भइरहेका बेला यसअघिका प्रहरी निरीक्षक समुन्नत अधिकारीसहित तीन प्रहरी कर्मचारीमाथि भने घुस प्रकरणको छानबिन भइरहेको छ।

लागुऔषध मुद्दाका फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरी १० हजार रुपैयाँ लिएर छाडेको आरोप लागेपछि प्रहरी निरीक्षक अधिकारीसहित प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाबारे गुनासो आएपछि प्रारम्भिक अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूको संलग्नताबारे आशंका देखिएपछि तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाएर थप अनुसन्धान अघि बढाइएको हो। घुसबापत लिएको भनिएको रकमसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत छानबिनका लागि प्रहरी नायब उपरीक्षक राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अनुसन्धान पूरा भएपछि समितिले तयार गर्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ। छानबिनका क्रममा दोषी ठहर हुने अवस्था देखिएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि थप कारबाहीका लागि सिफारिस गरिने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले गुनासो आएपछि सम्बन्धित प्रहरी कर्मचारीलाई सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला बोलाइएको जानकारी दिए।

नयाँ प्रहरी निरीक्षक कार्कीको आगमनसँगै पटेर्वा सुगौली क्षेत्रमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सेवाप्रतिको जनविश्वास कायम गर्ने चुनौतीसमेत रहने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

अविनाश चौधरीलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

थारु एक्सप्रेस

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापाका सामुदायिक विद्यालयप्रति अभिभावकहरु आकर्षितहुँदै

थारु एक्सप्रेस