बीरगंज , असोज २०
रामकिशोर चौधरी
मानव जीवन बचाउने उद्देश्यले पर्साको सखुवाप्रसौनी गाउँपालिका–२, औराहा पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
सखुवाप्रसौनी गाउँपालिका र गाउँ कार्यपालिकाको कार्यालयको समन्वय तथा सहयोगमा नारायणी खबर मिडियाको आयोजनामा सोमबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्ज, पर्साले प्राविधिक सहयोग गरेको थियो।
रक्तदान कार्यक्रममा स्थानीय बासिन्दा, युवालगायतको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा रक्तदान गर्ने २५ जना रक्तदातालाई सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारूले प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक सेवा भएको बताए। उनले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिँदै आकस्मिक अवस्थामा रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहन गर्ने बताए।
“रक्तदान नै जीवनदान हो, एक व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन बचाउन सक्छ,” अध्यक्ष यादवले भने।
त्यसैगरी वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारूले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए। उनले युवाहरूलाई रक्तदानजस्तो मानवीय सेवामा सक्रिय सहभागी हुन आग्रह गर्दै आगामी दिनमा पनि वडामा यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
रक्तदान कार्यक्रममार्फत संकलित रगतले आवश्यकता परेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
