पर्सा, असोज ९ गते ।
पर्सामा अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ पर्साले विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ पर्साले शुक्रबार एक सूचना जारी गर्दै असोज ९ गतेदेखि ११ गतेसम्म जिल्लामा हुन सक्ने अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन तथा उक्त अवधिमा विद्यालय सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको हो।
इकाइले शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको सूचना तथा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमेतको पूर्वानुमानलाई आधार बनाउँदै यस्तो अनुरोध गरेको जनाएको छ।
सूचनामा नेपालका विभिन्न स्थानमा भारी वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। मौसमजन्य विपद्का कारण विद्यार्थी, शिक्षक तथा विद्यालय समुदायमा जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ पर्साका इकाइ प्रमुख मोतीप्रसाद भण्डारीद्वारा जारी सूचनामार्फत जिल्लाका सबै विद्यालयलाई तोकिएको अवधिमा विद्यालय सञ्चालन नगर्न तथा आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।
पर्सामा तीन दिन विद्यालय बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाइको अनुरोध
प्रतिक्रिया लेख्नुहोस

