जिराभवानी , १० असोज ।
पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ। जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा समाज नेपाल, जिराभवानी–२ सेढवाको सहआयोजनामा प्रतियोगिता असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो।
प्रतियोगिताबारे जानकारी दिन शनिबार जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीको अध्यक्षता तथा युवा समाजसेवी कृष्ण चौधरीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनमा युवा समाजसेवी कृष्ण चौधरीले गाउँघरका धेरै युवा खेलकुदतर्फ आकर्षित हुन नसक्दा कुलतमा फस्ने अवस्था देखिएकाले उनीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले भेट्रान कप आयोजना गरिएको बताए।
उनका अनुसार ४० वर्ष उमेर कटेका खेलाडीहरू मैदानमा उत्रिएर फुटबल खेलेको देख्दा नयाँ पुस्तामा पनि फुटबलप्रति रुचि र उत्साह बढ्ने अपेक्षा गरिएको छ। “खेलकुदले युवालाई अनुशासनमा राख्नुका साथै सकारात्मक गतिविधितर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भने।
प्रतियोगितामा १६ वटा भेट्रान क्लबलाई सहभागी गराउने लक्ष्य राखिएको छ। हालसम्म ११ वटा टोलीको सहभागिता सुनिश्चित भइसकेको जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीले जानकारी दिए। बाँकी टोलीको सहभागिता पनि सुनिश्चित गर्ने तयारी भइरहेको उनले बताए।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले ४० वर्षमाथिका खेलाडीलाई पुनः खेलमैदानमा सक्रिय गराउनुका साथै स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न र नयाँ पुस्तालाई फुटबल खेलप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
युवालाई फुटबलतर्फ आकर्षित गर्ने उद्देश्यले सेढवामा प्रथम जिराभवानी भेट्रान कप आयोजना हुने
प्रतिक्रिया लेख्नुहोस
