बीरगंज , भदौ २५
अजित धामी
पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीबाट सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएको ४० किलो प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) महादेवपट्टीका प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले गाउँ नजिकैबाट उक्त कुखुरा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साका अनुसार बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सञ्चारकर्मीको रोहबरमा खाल्डो खनी नष्ट गरिएको हो। कुखुरा नष्ट गर्दा जिराभवानी–१ का वडा अध्यक्ष रामशरण ख्वासको समेत उपस्थिति रहेको थियो।
सीमा क्षेत्रमा हुने अवैध पशुपन्छी तथा वस्तुको ओसारपसार नियन्त्रण गर्न निगरानी र नियमित गस्तीलाई थप तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस
