वीरगञ्ज , भाद्र ५
जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्जको घण्टाघरमा थारु संघसंस्थाहरूले दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

थारु कल्याणकारिणी सभा पर्सा, थारु नागरिक समाज बारा–पर्सा–रौतहट, थारु पत्रकार संघ नेपाल पर्सा, थारु युवा सभा पर्सा, मेलमिलाप थारु परिवार पर्सा र थारु फर्मा मार्केटिङ पर्साको संयुक्त आयोजनामा दीप प्रज्वलन तथा कोणसभा गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै थारु नागरिक समाज बारा–पर्सा–रौतहटका अध्यक्ष परमानन्द चौधरीले गरिमा चौधरीका लागि न्याय सुनिश्चित गर्न माग गर्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न कानुन संशोधन गर्नुपर्ने बताए।

त्यस्तै, थारु कल्याणकारिणी सभा पर्साका अगुवा नन्दकिशोर पञ्जियारले सरकारले पीडित पक्षसँग वार्ता गरी माग सम्बोधन नगरे थप कडा आन्दोलन गर्न थारु संघसंस्थाहरू तयार रहेको चेतावनी दिए।
कार्यक्रममा मनोज चौधरी, मुकेश गौरी, लक्ष्मी थापा, रामजनम चौधरी र पुनम चौधरीलगायतले बोल्दै गरिमा चौधरीको न्यायका लागि सरकारले तत्काल पहल गर्नुपर्ने र अपराधीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने माग गरेका थिए।
दीप प्रज्वलनका क्रममा सहभागीहरूले गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका थिए।
