वीरगञ्ज, असार १८
वीरगञ्ज कपडा बैंकले आफ्नो नियमित सामाजिक सेवा अभियानअन्तर्गत शुक्रबार वीरगञ्जको घण्टाघरस्थित स्वर्गीय रामजनम तिवारी बाबाको सालिक परिसरमा मासिक निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ८ सय थान लत्ताकपडा विपन्न, असहाय तथा आवश्यकतामा रहेका नागरिकलाई वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।
बैंकले विगत सात वर्षदेखि निरन्तर रूपमा वीरगञ्ज–८ स्थित आफ्नो कार्यालयबाट प्रत्येक आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। साथै, प्रत्येक महिनाको नियमित वितरण कार्यक्रम घण्टाघरमा सञ्चालन गर्दै आएको जनाएको छ।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथि तथा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा सल्लाहकार सरदार जसपाल सिंह, बीपीएस प्लस–टु कलेजका सञ्चालक दीपक पटेल, ज्ञान निकेतन स्कुलका निर्देशक किशन सिंह, समाजसेवी गौरी गुप्ता, कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, घण्टाघर प्रहरी पोस्टका प्रमुख असई महेन्द्रकुमार चौधरी, सञ्चारकर्मी अर्जुन चौधरी, श्रीनारायण महतो, आकाश पटेल तथा बैंकका पदाधिकारी, सदस्य र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले “कोही पनि नाङ्गो नरहोस्” भन्ने उद्देश्यलाई आत्मसात गर्दै वीरगञ्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर समाजसेवामा सक्रिय भूमिका निर्वाह गरिरहेको बताए। उनले आगलागी, बाढी लगायतका विपद्का बेला पीडितको घरदैलोमै पुगेर लत्ताकपडासहित आवश्यक सहयोग गर्दै आएको संस्थाको कार्यको प्रशंसा गरे।
उनले प्रत्येक नागरिकले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्नेमा जोड दिँदै वीरगञ्ज कपडा बैंकलाई सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा संस्थाका पदाधिकारी र सदस्यप्रति आभार व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष लालबाबु सिंहले बैंकको मानवीय अभियानलाई निरन्तर सहयोग पुर्याउने सबै दाता, सल्लाहकार, शुभेच्छुक तथा सहभागीप्रति धन्यवाद ज्ञापन गरे। साथै, कार्यक्रम व्यवस्थापनका लागि ध्वनि प्रणाली (स्पिकर–माइक) उपलब्ध गराई सहयोग गर्ने बीपीएस प्लस–टु कलेजका सञ्चालक दीपक पटेलप्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजसेवाको अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
