TharuExpress
समाचार

भारतीय कुखुराका ४ हजार ५ सय चल्ला पर्सामा बरामद, तस्कर फरार

वीरगञ्ज, ३१ साउन 

अजित धामी

 

पर्सामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ४ हजार ५ सय वटा कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीको टोलीलाई देखेपछि चल्ला ल्याउने तस्करहरू चल्ला छाडेर फरार भएका छन्।

content left

सशस्त्र प्रहरी बल नेपाल, पर्साका अनुसार बिओपी अमरपट्टीबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–३, झौवागुठी क्षेत्रबाट शनिबार बिहान करिब ३ बजेको समयमा भारतीय कुखुराका चल्ला बरामद गरेको हो।

भारतबाट अवैध रूपमा कुखुराका चल्ला नेपालतर्फ ल्याइँदै गरेको सूचना पाएपछि बिओपी अमरपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक उपेन्द्र साहको नेतृत्वमा टोली परिचालन गरिएको थियो। टोलीले उक्त क्षेत्रमा निगरानी तथा चेकजाँच गर्ने क्रममा भारततर्फबाट ल्याइँदै गरेका चल्ला फेला पारेको थियो।

प्रहरीको टोली पुगेपछि चल्ला ल्याउँदै गरेका व्यक्तिहरू अँध्यारोको फाइदा उठाउँदै चल्ला छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले घटनास्थलबाट सबै चल्ला नियन्त्रणमा लिएको थियो।

बरामद गरिएका चल्लाको अनुमानित मूल्य ३ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायको समन्वयमा बरामद चल्ला नष्ट गरिएको छ।

भारतबाट अवैध रूपमा पशुपन्छी तथा कुखुराका चल्ला भित्र्याउँदा स्थानीय व्यवसायमा असर पर्नुका साथै पशुपन्छीजन्य रोग फैलिने जोखिमसमेत रहने भएकाले सीमा क्षेत्रमा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल, पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले अवैध पशुपन्छी ओसारपसार तथा सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमा क्षेत्रमा गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाएका छन्।

पछिल्लो समय पर्साको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा कुखुराका चल्ला, पशुपन्छी, खाद्यान्न, लत्ताकपडा तथा अन्य राजस्व छलीका सामानको अवैध ओसारपसार नियन्त्रणका लागि नियमित रूपमा टोली परिचालन हुँदै आएको छ।

बरामद चल्ला नष्ट गरिए पनि घटनामा संलग्न व्यक्तिहरू भने फरार रहेका छन्। उनीहरूको पहिचान तथा खोजीका लागि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध पशुपन्छी ओसारपसार तथा अन्य तस्करी नियन्त्रणका लागि आगामी दिनमा समेत निगरानी र कारबाहीलाई निरन्तरता दिने सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

दुग्धेश्वर धामको बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

२२ किलो ८ सय २० ग्राम गाँजासहित तीन जना पक्राउ

थारु एक्सप्रेस

पर्सामा  डेपुटी मेयर्स क्लब गठन

थारु एक्सप्रेस