जिराभवानी १३ साउन /
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिराभवानी गाउँपालिका समिति, पर्साले जिराभवानी गाउँपालिकामा रासायनिक मल वितरण प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै उपाध्यक्ष रेखा चौधरी र प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएको छ।
बुधबार बुझाइएको ध्यानाकर्षण पत्रमा लामो समयदेखि किसानहरूले भोग्दै आएको रासायनिक मलको अभाव तथा वितरण प्रक्रियामा पारदर्शिताको कमीले कृषकहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गरिएको छ। सार्वजनिक सूचना समयमै नदिइएको, सीमित व्यक्तिलाई मात्र जानकारी गराई मल वितरण गरिएको तथा वितरण प्रक्रिया निष्पक्ष नभएको आरोप पत्रमा लगाइएको छ।
रास्वपाले केही स्थानमा जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूको प्रभावमा आफ्ना निकटका व्यक्तिहरूलाई आवश्यकता भन्दा बढी मल उपलब्ध गराइएको र वास्तविक किसानहरू भने मलबाट वञ्चित भएको गुनासो आएको जनाएको छ। यस्ता गतिविधिले कृषि क्षेत्रको विकास, सुशासन तथा सार्वजनिक विश्वासमाथि नै प्रश्न उठाएको पार्टीको भनाइ छ।
ध्यानाकर्षण पत्रमार्फत रास्वपाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण तथा रातो किताब सार्वजनिक गर्न, चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट र विनियोजित कार्यक्रम गाउँपालिकाको वेबसाइटमार्फत सार्वजनिक गर्न, मल वितरण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र व्यवस्थित बनाउन तथा वितरणको मिति, स्थान र परिमाण समयमै सार्वजनिक गर्न माग गरेको छ।
यस्तै, मल वितरणमा देखिएको भनिएको अनियमिततामाथि निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र किसानलाई सहज रूपमा मल, सिँचाइ तथा आवश्यक कृषि सेवा उपलब्ध गराउन पनि माग गरिएको छ।
कृषि उत्पादनको मुख्य समयमा मलको अभावले कृषि उत्पादन, खाद्य सुरक्षा तथा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकाले यस विषयलाई उच्च प्राथमिकताका साथ समाधान गर्न रास्वपाले आग्रह गरेको छ। साथै, ध्यानाकर्षण पत्र प्राप्त भएको मितिले १५ दिनभित्र आवश्यक कदम तथा प्रगतिबारे लिखित जानकारी उपलब्ध गराउन पनि गाउँपालिकासँग अनुरोध गरिएको छ।
उक्त ध्यानाकर्षण पत्रमा रास्वपा जिराभवानी गाउँपालिका समितिका सभापति रामाकान्त प्रसाद चौधरीको हस्ताक्षर रहेको छ।
