
काठमाण्डाै १६ – पहिरोले बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन समय लाग्ने भएको छ । आज बिहान साढे ५ बजेतिर खसेको पहिरो हटाउन दिउँसोसम्म नै लाग्न सक्ने चितवन प्रहरीले जनाएको छ । विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ । त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
केराबारीको पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने र १८ किलोको पहिरो ३ घण्टामा हटाउनेगरी काम थालिएको प्रहरीको भनाइ छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।
