वीरगञ्ज, भदौ २२
अजित धामी
पर्साको भलुहिआई खोरमोर गाउँदेखि सेनवर्षा हुँदै जंगलको फोरलेन क्षेत्रसम्म नदीजन्य पदार्थको उत्खनन् तथा निकासी तीव्र रूपमा भइरहेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार उक्त क्षेत्रमा दैनिक ५० देखि ६० वटासम्म ट्र्याक्टरमा बालुवा तथा गिट्टी उत्खनन् गरी निकासी भइरहेको छ। विशेषगरी जमुनी खोलालगायतका क्षेत्रमा भइरहेको अनियन्त्रित उत्खनन्ले चुरे क्षेत्र तथा वातावरणमा गम्भीर असर पारिरहेको स्थानीयको गुनासो छ।
निरन्तर रूपमा बालुवा–गिट्टी निकालिँदा खोलाको प्राकृतिक स्वरूप बिग्रिनुका साथै भू–क्षय, जलाधार क्षेत्रमा असर र चुरे क्षेत्रको पारिस्थितिक प्रणालीमा क्षति पुग्ने जोखिम बढेको स्थानीयको भनाइ छ।
स्थानीयले नदीजन्य पदार्थको उत्खनन् तथा निकासीलाई तत्काल नियमन गर्नुपर्ने र चुरे क्षेत्र संरक्षणका लागि सम्बन्धित निकायले प्रभावकारी अनुगमन तथा कारबाही गर्नुपर्ने माग गरेका छन्।
यसैबीच, उत्खनन् तथा निकासीमा स्थानीय प्रहरी र सम्बन्धित वन कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोप समेत स्थानीयले लगाएका छन्। उनीहरूले जमुनी खोला, रंगपुर सब–डिभिजन, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली तथा रंगपुर प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।
यद्यपि, प्रहरी तथा सम्बन्धित वन कार्यालयका कर्मचारीमाथि लगाइएको मिलेमतोको आरोपबारे आधिकारिक पुष्टि वा प्रतिक्रिया सार्वजनिक भएको छैन। आरोपको सत्यतथ्यबारे सम्बन्धित निकायको प्रतिक्रिया तथा स्थलगत अनुगमन आवश्यक देखिन्छ।
स्थानीयले प्राकृतिक स्रोतको संरक्षण, अवैध तथा अनियन्त्रित उत्खनन् नियन्त्रण र नदीजन्य पदार्थको निकासीमा प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
