TharuExpress
मुख्य समाचार

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेको संख्यामा बृद्धि

ओमप्रकाश चौधरी, सेढवा, १९ साउन/

पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरू साउन महीनामा विभिन्न धार्मिक एवं पर्यटकीय स्थलमा भ्रमण गर्न जाने क्रम बढेको छ ।

content left

किसानहरूले वर्षेबाली धान रोपाइँ गरेर गोडमेल गर्ने कार्य पनि सकाएका कारण उनीहरू खेतीपातीपछि नेपाल र भारतका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्किएका हुन् । साउनमा विभिन्न स्थानका शक्तिपीठहरूको दर्शन गर्दै आएका किसानहरू खेतीपातीको झन्झटबाट मुक्त भएपछि धार्मिक यात्रामा निस्किएका हुन् । अहिले सामुदायिक विद्यालयहरूमा पनि वर्षे बिदा भएकोले शिक्षकहरू पनि भ्रमणमा छन् । आर्थिकरूपमा सम्पन्न शिक्षक, विद्यार्थीहरू पनि राजधानी काठमाडौं, पर्यटकीय गन्तव्य पोखरा, तानसेन, बुटवल, भैरहवा, लुम्बिनी, धरान, इलाम, झापालगायतका ठाउँहरूमा भ्रमण गएका छन् । यसै महीनामा भारतको प्रसिद्ध बाबाधाम, वासुकिनाथ, अयोध्या, बनारस, कोलकाता, जगरनाथपुरी, गङ्गासागरलगायतका धार्मिक स्थलहरूमा जाने गरिन्छ । यस वर्ष नेपाल र भारतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्सा जिल्लाबाट जानेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ ।

जीराभवानी गाउँपालिका–१ पकडीटोलाका बस सञ्चालक दीपक चौधरीले ५० जना धार्मिक यात्रीहरूलाई लिएर भारतका विभिन्न स्थानको भ्रमणका लागि प्रस्थान गरेको बताए । उनले बिहार, झारखण्ड, पश्चिम बङ्गाल र उडिसा राज्यका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने बताए । भ्रमणका लागि गाडीको कागजपत्र, दूतावासको इजाजतपत्र, यात्रीहरूको नेपाली पहिचानपत्रका साथै कोभिडविरुद्धको खोप लिएको प्रमाणसहित यात्रीहरूलाई भारत लगिएको सञ्चालक चौधरीले बताए ।

जगरनाथपुर गापाको रामजानकी प्रावि बिजबनियाका शिक्षक हरिनारायण चौधरीसहित शिक्षकहरूको समूह दक्षिण भारत भ्रमणका लागि तीन दिन पहिले प्रस्थान गरेको पनि बस सञ्चालक चौधरीले जानकारी गराए ।

भारतका दिल्ली, मुम्बई, गोवालगायतका स्थान भ्रमण गर्ने योजनासहित टोली त्यसतर्फ प्रस्थान गरेको चौधरीले बताए । यसको अलावा गोरखपुर, अयोध्या, कानपुर, गजियाबाद, आगरा, लखनउहरिद्वार, ऋषिकेशलगायतका स्थानहरूका लागि पनि जिल्लाका विभिन्न पालिकाहरूबाट मानिसहरू जाने क्रम जारी छ । यसका साथै भारतको दार्जिलिङ्ग, सिक्किम र वैष्णोदेवीको दर्शनका लागि पनि मानिसहरू गइरहेका छन् ।

 

ग्रामीण क्षेत्रका मानिसहरू आर्थिक अवस्था अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको वार्षिकरूपमा अवलोकन भ्रमण गर्दै आएका छन् । वर्षभरिको तनाव भ्रमणबाट मेटिने अभिप्रायले सामथ्र्य अनुसारको यात्रा गर्ने क्रम पहिलेदेखि नै हुँदै आएको छ । दुई वर्षको कोरोनाले घरमैं बस्न बाध्य भएकाले यसपटक भने बाहिरिनेहरूको सङ्ख्या बढेको हो । भारतमा कोरोना सङ्क्रमण दर बढेकोले थुप्रैले त्यसतर्फको यात्रा परिवर्तन गरेका छन् भने कतिपयले छोट्याएका पनि छन् ।  जीराभवानी गापा अन्तर्गतको बाबा बटेश्वरनाथ कावरिया सङ्घको आयोजनामा एउटा टोली आज बुधवार त्रिवेणी जल भर्न गएको छ । सयौंको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू प्रस्थान गरेको छ । एक साताको यात्रामा नेपाल र भारतका गरी दुई दर्जन गाउँका पाँच सयभन्दा बढी यात्रीको सहभागिता रहेको छ ।

यसका साथै पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत दुधेश्वर महादेव मन्दिर, रामभौरी भाथा र ठोरीको भ्रमण गर्ने पनि बढेका छन् । हुलाकी सडक निर्माण भएकोले पछिल्लो समय ठोरीको भ्रमण गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

सितलहर बढेसगै पर्साको जिराभवानी गापा ३को दलित मुसहर टोलमा कम्बल बितरण

थारु एक्सप्रेस

माघी मूल समारोह वीरगंजद्वारा माघी महोत्सव कार्यसमिति गठन….

थारु एक्सप्रेस