वीरगञ्ज, पर्सा — १८ भदौ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि थारू कल्याणकारिणी समिति, पर्साले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समितिले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ हजार रुपैयाँ जम्मा गरेको हो।
थारू कल्याणकारिणी समिति, पर्साका अध्यक्ष भागवतप्रसाद थारूको पहलमा उक्त रकम सहयोग गरिएको समितिले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकप्रति सामाजिक उत्तरदायित्व बहन गर्दै मानवीय सहयोगको भावना अभिव्यक्त गर्ने उद्देश्यले राहत कोषमा रकम जम्मा गरिएको समितिको भनाइ छ।
समितिका सचिव मनोज चौधरीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो। उहाँले विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई सक्दो सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो।
समितिले सहयोग रकम जम्मा गरिएको बैंक भौचरसमेत सार्वजनिक गरेको जनाएको छ। आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो भूमिका निरन्तर अघि बढाउने प्रतिबद्धता समितिले जनाएको छ।
