TharuExpress
समाचार

गरिमा हत्या प्रकरणमा आक्रोश चर्कियो, डीएसपी निलम्बन नभएसम्म सडक नछाड्ने स्थानीयको अडान

वीरगञ्ज , भद्र ४

 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको बीभत्स हत्याको विरोधमा स्थानीयवासीले थालेको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ ।

पीडित परिवार तथा आक्रोशित स्थानीयवासीले बुधवार बिहानदेखि वीरगञ्ज–पथलैया सडकखण्डमा टायर बालेर सुरु गरेको प्रदर्शन बिहीबार पनि निरन्तर रहँदा यस प्रमुख औद्योगिक तथा व्यापारिक कोरिडोरको यातायात सेवा प्रभावित बनेको छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन तथा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

content left

स्थानीयवासीले बालिका हराएको सूचना समयमै प्रहरीलाई दिए पनि खोजी तथा अनुसन्धानमा प्रहरीले गम्भीरता नदेखाएको आरोप लगाएका छन् । स्थानीयको यही आरोप र आक्रोशका कारण जीतपुरसिमरा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ ।

आन्दोलनरत स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलीप क्षेत्रीलाई निलम्बन नगरेसम्म सडक अवरोध नहटाउने अडान लिएका छन् । प्रहरीको कथित ढिलासुस्ती र लापरबाहीका कारण अबोध बालिकाले ज्यान गुमाउनुपरेको भन्दै उनीहरूले जिम्मेवार प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका हुन् ।

सडक अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने विषयमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबिच बुधवार अबेर रातिसम्म पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेन । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार राति ११ बजेसम्म भएको छलफलमा आन्दोलनरत पक्षले डिएसपी क्षेत्रीलाई तत्काल निलम्बन गर्नुपर्ने माग राखेको थियो । तर, डिएसपी निलम्बन गर्ने विषय जिल्ला तहको अधिकार क्षेत्रभन्दा बाहिर पर्ने भएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ ।

पीडित पक्षका अनुसार बालिका साउन ३१ गतेदेखि बेपत्ता भएपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएको थियो । शङ्कास्पद व्यक्तिहरूविरुद्ध किटानी जाहेरीसमेत दिइएको भए पनि प्रहरीले खोजीमा अपेक्षित तत्परता नदेखाएको उनीहरूको आरोप छ ।

मङ्गलवार साँझ स्थानीयले घरनजिकको भक्ति टोलस्थित सुनसान खाली घरबाट दुर्गन्ध आएको थाहा पाएपछि झ्यालबाट हेर्दा बालिकाको शव देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । शव भेटिएपछि मात्रै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको स्थानीयको आरोप छ ।

यस घटनामा प्रहरीले जीतपुरसिमरा–२ निवासी करिब १६ वर्षीय सुमन थापा र जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ । प्रोग्रेस ना.१ ज ७७५८ नम्बरको म्याजिकका चालक हुन् भने सुमन उक्त म्याजिकका सहचालक (खलासी) रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा तालिमप्राप्त कुकुरसहित अनुसन्धान गर्ने क्रममा सुमन थापा पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान घरमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । घटनामा आफ्नो मात्रै संलग्नता रहेको उनको बयान रहेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको थप अनुसन्धानका लागि म्याजिक चालक प्रोग्रेस चौधरीलाई समेत नियन्त्रणमा लिइएको छ ।

घटनाबारे संसद्मा समेत प्रश्न उठेको छ । बाराका सांसद रहबर अन्सारीले प्रहरीकै लापरबाहीका कारण बालिकाको हत्या भएको आरोप लगाउँदै घटनाको गम्भीर छानबिनको माग गरेका छन् । उनले इलाका प्रहरी कार्यालय सिमराको कार्यशैली र त्यहाँका प्रहरी अधिकारीमाथि समेत प्रश्न उठाएका छन् ।

सांसद अन्सारीले घटना लगत्तै प्रहरीलाई जानकारी गराउँदा पनि लामो समयसम्म खोजीमा चासो नदिएको आरोप लगाउँदै प्रहरीको कार्यशैलीमाथि छानबिन आवश्यक रहेको बताएका छन् । उनले बाराका प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालय सिमराको नेतृत्वको भूमिकाबारे समेत प्रश्न उठाएका छन् ।

यसअघि पनि इलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिलीप क्षेत्रीको कार्यशैलीलाई लिएर प्रश्न उठ्दै आएको स्थानीयको दाबी छ । यद्यपि प्रहरी अधिकारीमाथि लगाइएका आरोप तथा सांसदले उठाएका विषयबारे सम्बन्धित निकायको औपचारिक निष्कर्ष भने सार्वजनिक भइसकेको छैन ।

यसैबिच, घटनापछि मृतक बालिकाको परिवार शोकमा डुबेको छ । जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी गरिमाको मृत्युले स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ । परिवारका सदस्यहरू विक्षिप्त अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

बालिकाको शव परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान जारी रहेको र घटनामा संलग्न अन्य पक्षबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, आन्दोलनरत स्थानीयले निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही र प्रहरीको लापरबाहीमाथि छानबिनको माग गर्दै प्रदर्शन जारी राखेका छन् । उनीहरूले डिएसपी क्षेत्रीमाथि कारबाही नभएसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

शिक्षाको आधार बन्दै आदर्श थारु छात्रावास.

थारु एक्सप्रेस

विश्वा हिन्दू परिषद नेपाल द्वरा ज्ञापन पत्र बुझायो

थारु एक्सप्रेस

पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११श्रिपुर टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बिहिबार घरदैलो कार्यक्रम गरे

थारु एक्सप्रेस