वीरगञ्ज, भदौ ५
थारु एक्सप्रेस
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या प्रकरणलाई लिएर बारामा दुई दिनदेखि जारी आन्दोलन ५ बुँदे सहमतिसँगै स्थगित भएको छ।
पीडित परिवार, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समितिबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको लामो वार्तापछि ५ बुँदे सहमति जुटेको हो। सहमतिपछि आन्दोलनरत पक्षले सडक अवरोधसहितका सबै प्रदर्शनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ।
सहमतिअनुसार पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिने भएको छ।
त्यस्तै, प्रहरी हिरासतमा रहेका घटनामा संलग्न व्यक्तिमाथिको अनुसन्धानलाई निरन्तरता दिँदै थप व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूलाई समेत कानुनी दायरामा ल्याई कडा कारबाही गर्ने सहमति भएको छ।
घटनाको अनुसन्धान तथा खोजीमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे पनि प्रशासनले आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा खोजी तथा अनुसन्धानमा बेवास्ता गर्ने सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गरिने भएको छ। साथै, जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छ।
साउन ३१ गतेदेखि बेपत्ता रहेकी गरिमाको शव भदौ २ गते जीतपुरसिमरा–१ स्थित एक खाली घरमा फेला परेको थियो
घटनापछि दोषीलाई कडा कारबाही तथा अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गर्दै आएका थिए।
५ बुँदे सहमतिपछि भने अवरुद्ध सडक सञ्चालनमा आएको छ र आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ।
