वीरगंज , श्रावण २६
अजित धामी
पटेर्वासुगौली गाउँपालिका–५ ले वडामा कार्यरत ६ जना चौकीदारलाई साइकल, टर्चलाइट र रेनकोट वितरण गरेको छ।
वडा नम्बर ५ को योजनाअन्तर्गत वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष विपिन मुखियाले ६ जना चौकीदारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
वडाको सुरक्षा तथा निगरानीमा खटिने चौकीदारलाई रातिको समयमा आवतजावत गर्न सहज हुनुका साथै वर्षायाममा समेत आफ्नो जिम्मेवारी निर्वाह गर्न सहज होस् भन्ने उद्देश्यले साइकल, टर्चलाइट र रेनकोट उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।
सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष मुखियाले चौकीदारहरू वडाको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले उपलब्ध सामग्रीको सही सदुपयोग गर्दै आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी बनाउन चौकीदारहरूलाई आग्रह गरे।
वडामा शान्ति–सुरक्षा कायम राख्न तथा रातिको समयमा हुने गतिविधिको निगरानीमा चौकीदारको भूमिका महत्वपूर्ण रहेकाले उनीहरूको कार्यसम्पादनलाई सहज बनाउन आवश्यक सामग्री उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।
