वीरगञ्ज , श्रावण २
पर्साको पटेर्वा सुगौली गाउँपालिका–स्थित टोल देउरियामा सक्रिय आदर्श कवारिया संघले विगत ३७ वर्षदेखि सनातन धर्म, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ।

वि.सं. २०४५ मा स्थापना भएको संघले पटेर्वा सुगौली गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल भाथाधाम बाबा दूधेश्वरनाथ मन्दिरको धार्मिक महत्वलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
संघले प्रत्येक वर्ष श्रावण महिनामा बोलबम यात्रा आयोजना गर्दै भारत तथा नेपालका पवित्र नदीबाट जल ल्याई भाथाधामस्थित बाबा दूधेश्वरनाथ मन्दिरमा जलाभिषेक गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ।
शनिबार सम्पन्न संघको बैठकले आगामी श्रावण २१ गते भारतको त्रिवेणी नदीबाट पवित्र जल भरेर करिब पाँच दिन लामो बोलबम यात्रा सञ्चालन गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष राजेश्वर पञ्जियार थारुका अनुसार सहभागी भक्तजनले साउन महिनाको दोस्रो सोमबार बाबा दूधेश्वरनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम तय गरिएको छ।
संघका कोषाध्यक्ष शम्भु महतो थारुले भाथाधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई व्यापक रूपमा प्रचार–प्रसार गर्दै थप श्रद्धालु भक्तजनलाई आकर्षित गर्ने लक्ष्यसहित संघ सक्रिय रहेको बताए।
आदर्श कवारिया संघमा पटेर्वा सुगौली, जिराभवानी र सखुवा प्रसौनी गाउँपालिकाका करिब ५०० सदस्य आबद्ध रहेका छन्।
बैठकमा अध्यक्ष राजेश्वर पञ्जियार थारु, महासचिव बालेश्वर महतो चौधरी, सचिव प्रमोद चौधरी, कोषाध्यक्ष शम्भु चौधरी, सल्लाहकार रूपनारायण चौधरीसहित ५० भन्दा बढी सदस्य तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मी कन्हैया पटेलको सहभागिता रहेको थियो।
संघले आगामी दिनमा भाथाधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई देशव्यापी रूपमा स्थापित गर्दै सनातन धर्मको संरक्षण तथा प्रवर्द्धनका अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
