वीरगञ्ज , श्रावण १
वीरगञ्जको प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो ऐतिहासिक रथयात्रा–२०८३ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। अविरल वर्षाका बाबजुद पनि करिब एक लाखभन्दा बढी श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिताले यस वर्षको रथयात्रालाई ऐतिहासिक बनाएको आयोजकले जनाएको छ।
रथयात्रा बिहान ७:३० बजे सुरु गर्ने तालिका रहे पनि बिहान ३ बजेदेखि परेको निरन्तर वर्षाका कारण केही समय ढिलाइ भएको थियो। वर्षा रोकिएपछि बिहान ८:४५ बजे विधिवत रूपमा रथयात्रा प्रारम्भ गरिएको थियो।
प्रतिकूल मौसमलाई बेवास्ता गर्दै हजारौं भक्तजनहरू रथ तान्न तथा दर्शन गर्न सहभागी भएका थिए। आयोजकका अनुसार यस वर्षको रथयात्रामा पर्सासहित बारा, रौतहट, सर्लाही, महोत्तरी लगायत विभिन्न जिल्लाबाट उल्लेखनीय संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।
रथयात्रा घण्टाघर, रेलवे रोड, छपकैया, नारायणी अस्पताल, आदर्शनगर हुँदै पूर्ण माइस्थान पुगेर विधिवत रूपमा समापन गरिएको थियो। सम्पूर्ण मार्गभर भक्तजनहरूले जयघोष, भजन–कीर्तन तथा पूजा–आराधनाका साथ रथयात्रालाई भक्तिमय वातावरण प्रदान गरेका थिए।
श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले रथयात्रा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, सुरक्षा निकाय, विभिन्न सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण श्रद्धालु भक्तजनप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
आयोजकका अनुसार भक्तजनहरूको अभूतपूर्व सहभागिता र व्यवस्थापनको सफलतासँगै यस वर्षको गहवामाई रथयात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाएको छ।
