वीरगञ्ज, असार २९
नेपाल–भारत मैत्री युवा संघ, पर्सा नेपालको आयोजनामा वीरगञ्ज महानगरपालिकास्थित टाउन हल प्राङ्गणमा सोमबार लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभियान सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ok
संघका अध्यक्ष शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल–भारत मैत्री युवा संघका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख बिक्रम सुवेदी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, भारतको महावाणिज्य दूतावास वीरगञ्जका दूत देवी सहाय मीना, मधेश प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीलगायत विभिन्न सामाजिक, राजनीतिक तथा युवासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
लागुऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरबारे सचेत गराइएको थियो। वक्ताहरूले लागुऔषधको लतले युवाको भविष्यसँगै परिवार र समाजसमेत प्रभावित हुने भएकाले समयमै प्रभावकारी जनचेतना फैलाउन आवश्यक रहेको बताए।
उनीहरूले युवापुस्तालाई लागुऔषधबाट जोगाउन परिवार, विद्यालय, समुदाय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्षबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए। विद्यालय तहदेखि नै नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्न सके लागुऔषध दुव्र्यसन न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा वक्ताहरूले व्यक्त गरे।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख बिक्रम सुवेदीले लागुऔषध नियन्त्रणका लागि प्रहरीले कानुनी कारबाहीसँगै समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले लागुऔषधको ओसारपसार, बिक्री–वितरण तथा सेवनविरुद्ध सबै सरोकारवाला एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषधविरुद्ध सचेत रहने, आफ्ना साथीभाइलाई पनि सचेत गराउने तथा स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
आयोजक नेपाल–भारत मैत्री युवा संघ, पर्सा नेपालले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै युवामाझ सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र सकारात्मक सोचको विकासका लागि सक्रिय रहने जनाएको छ।
