वीरगञ्ज, असार २९
लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल–भारत मैत्री युवा संघ, पर्साको आयोजनामा सोमबार वीरगञ्ज महानगरपालिका–स्थित टाउन हल प्राङ्गणमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संघका अध्यक्ष शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल–भारत मैत्री युवा संघका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख बिक्रम सुवेदी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, भारतको महावाणिज्य दूतावास वीरगञ्जका दूत देवी सहाय मीना, मधेश प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री लगायत विभिन्न सामाजिक, राजनीतिक तथा युवासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लागुऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा गम्भीर नकारात्मक असर पार्ने भएकाले यसको रोकथामका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनीहरूले विशेषगरी युवापुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन विद्यालय तहदेखि नै निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
वक्ताहरूले परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय कायम गरी युवालाई खेलकुद, शिक्षा, सीप विकास र सामाजिक गतिविधितर्फ आकर्षित गर्न सके लागुऔषध दुव्र्यसन न्यूनीकरणमा सकारात्मक परिणाम हासिल गर्न सकिने धारणा व्यक्त गरे।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुवेदीले लागुऔषध नियन्त्रणका लागि प्रहरीले कानुनी कारबाहीसँगै समुदायमा जनचेतना अभिवृद्धि गर्ने अभियानलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले लागुऔषधको ओसारपसार, बिक्री–वितरण र सेवनविरुद्ध समाजका सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषधविरुद्ध सचेत रहने, आफ्ना साथीभाइलाई समेत सचेत गराउने तथा स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउने प्रतिबद्धता जनाएका थिए।
आयोजक नेपाल–भारत मैत्री युवा संघ, पर्साले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै युवामा सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र सकारात्मक सोचको विकास गर्ने जनाएको छ।
लागुऔषधविरुद्ध सचेतना फैलाउन वीरगञ्जमा नेपाल–भारत मैत्री युवा संघको जनचेतना अभियान
प्रतिक्रिया लेख्नुहोस
