वीरगंज, २८ मंसिर । वीरगञ्जको घण्टाघर नजिक रहेको बीपी उद्यानमा रहेका अस्थायी घर–टहराहरू वीरगञ्ज महानगरपालिकाले आइतबार बिहान डोजर प्रयोग गरी हटाएको छ।
महानगरपालिकाको नेतृत्वमा नगर प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा टोली परिचालन गर्दै उद्यान खाली गराइएको हो। सार्वजनिक स्थलको संरक्षण, सहरी व्यवस्थापन तथा उद्यानलाई व्यवस्थित र आकर्षक रूपमा विकास गर्ने उद्देश्यले अवैध संरचना हटाइएको महानगरले जनाएको छ।
महानगरका अनुसार बीपी उद्यानलाई सार्वजनिक प्रयोजनका लागि सुरक्षित र व्यवस्थित स्थलका रूपमा विकास गर्ने योजनाअन्तर्गत अस्थायी संरचना हटाउने काम चरणबद्ध रूपमा अघि बढाइएको हो।
डोजर चलाउने क्रममा सो क्षेत्रमा रहेका पाँचवटा अस्थायी झुपडी र एउटा पुरानो कन्टेनरमा आगलागी भएको छ। आगो सुरक्षाकर्मीले लगाएको स्थानीयको आरोप रहे पनि सुरक्षा टोलीले आरोप अस्वीकार गरेको छ।
उद्यान क्षेत्रमा लामो समयदेखि सञ्चालन हुँदै आएको थोक तरकारी तथा फलफूल बजार हटाइएपछि व्यवसायीहरू आक्रोशित बनेका छन्। उनीहरूले केही समय महानगरविरुद्ध नाराबाजीसमेत गरेका थिए। व्यवसायीहरूको भनाइमा पूर्वसूचना, वैकल्पिक स्थान तथा पुनर्स्थापनाको योजना बिना नै संरचना हटाइँदा ठूलो आर्थिक क्षति भएको छ।
यसैबीच, उद्यान क्षेत्रमा बसोबास गर्दै आएका दलित बस्तीका बासिन्दाहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी संरचना हटाइनु अमानवीय भएको प्रतिक्रिया दिएका छन्।
व्यवसायी तथा स्थानीयवासीहरूले उचित व्यवस्थापन, वैकल्पिक स्थानको व्यवस्था र क्षतिपूर्तिको माग गर्दै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
