जनकपुरधाम २७ मंसिर।
मधेश प्रदेशमा आत्महत्याका घटनामा निरन्तर वृद्धि हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। विगत चार वर्षको अवधिमा यस प्रदेशमा ४ हजार ५८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। पछिल्लो एक वर्षमै मात्र १ हजार २२२ जनाले आत्महत्या गरेको देखिएको छ, जसमा महिलाको संख्या उल्लेखनीय रूपमा बढी रहेको छ।
राजविराजमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय, जनकपुरधामका प्रमुख बुद्धनारायण सहनीले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १८, २०७९/०८० मा १ हजार ६९, २०८०/०८१ मा १ हजार २८० र २०८१/०८२ मा १ हजार २२२ जनाले आत्महत्या गरेका छन्।
प्रमुख सहनीले आत्महत्याको घटना भइसकेपछि मात्र अनुसन्धान हुने र घटना हुनुअघिको अवस्थाबारे गहिरो अध्ययन नहुँदा समाजमा यस्ता घटना बढ्दै गएको तर्क गर्नुभयो। उहाँले आत्महत्याजस्ता गम्भीर सामाजिक समस्याप्रति समयमै ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
आत्महत्याको दर बढ्दै जाँदा सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। चिकित्सक कालीप्रसाद यादवका अनुसार आर्थिक समस्या, प्रेम सम्बन्ध, पारिवारिक कलह, बेरोजगारी, मानसिक तनाव, असफलता लगायतका कारणले व्यक्ति आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ। सामाजिक, आर्थिक, पारिवारिक तथा मानसिक रूपमा स्वस्थ नहुँदा यस्ता घटना बढ्ने उहाँको धारणा छ।
यस्तै, महिला आयोगकी सदस्य तथा अधिकारकर्मी आभासेतु सिंहले समयमै परिवारका सदस्य वा नजिकका साथीभाइले आत्महत्याका संकेत पहिचान गरी गम्भीर पहल गर्न सके यस्ता घटना रोक्न सकिने बताउनुभयो।
आत्महत्याको न्यूनीकरणका लागि प्रहरी तथा सम्बन्धित निकायले नियमित रूपमा सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै नयाँ सोच र नयाँ ढङ्गले अघि बढ्नुपर्ने मनोचिकित्सकहरूको सुझाव रहेको छ।सम्भार: गोरखापत्र
