आर.के. चौधरी / पौष २७
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–औराहा पञ्चगावा स्थित श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा डिजिटल हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले कचहरी नाटक प्रदर्शन गरिएको छ।
फोरम फर विमेन्स, ल’ एन्ड डेभलपमेन्ट (FWLD) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डिजिटल माध्यमबाट हुने हिंसा, साइबर अपराध तथा नागरिकका डिजिटल अधिकारका विषयमा केन्द्रित कचहरी नाटक प्रस्तुत गरिएको थियो।
कार्यक्रममा अधिवक्ता अभय चौधरी थारुले डिजिटल प्लेटफर्ममार्फत हुने हिंसाका स्वरूप, त्यसबाट बच्ने उपाय तथा कानुनी उपचार प्रक्रियाबारे विद्यार्थीहरूलाई व्यवहारिक जानकारी गराउनुभयो। उहाँले डिजिटल संसारमा सुरक्षित रहन सचेतना अत्यावश्यक रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक शिवनाथ थारुले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार र सुरक्षित डिजिटल प्रयोगतर्फ प्रेरित गर्ने उल्लेख गर्नुभयो।
कचहरी नाटकमार्फत डिजिटल हिंसाका घटनाहरू, पीडितको अवस्था, कानुनी उपचार प्रक्रिया तथा अधिकार संरक्षणका उपायहरूलाई सरल, जीवन्त र प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य डिजिटल हिंसाविरुद्ध जनचेतना फैलाउनु, विद्यार्थीहरूलाई साइबर अपराधबाट जोगिन सिकाउनु, आफ्ना डिजिटल अधिकारबारे जानकारी गराउनु तथा समस्या परेमा कानुनी सहायता कसरी प्राप्त गर्ने भन्ने विषयमा ज्ञान अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
FWLD ले यस्ता कचहरी नाटक कार्यक्रम देशका ७ वटा जिल्लामा सञ्चालन गर्ने योजना अनुसार अघि बढिरहेको बताउँदै यसले समुदाय तथा विद्यार्थीहरूमा डिजिटल अधिकार र सुरक्षाप्रति सचेतना बढाउने विश्वास लिएको छ।
सखुवाप्रसौनी गाउँपालिकामा डिजिटल हिंसाविरुद्ध कचहरी नाटक प्रदर्शन
प्रतिक्रिया लेख्नुहोस
