TharuExpress
Uncategorized

परम्परा हराउँदै: घाटो पर्व अब सम्झनामा मात्रै?

जिराभवानी २५ चैत्र/
आदिवासी जनजाति थारू समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको मौलिक सांस्कृतिक पहिचान बोकेको घाटो पर्व पछिल्लो समय लोपोन्मुख बन्दै गएको छ। चैत महिनाको शुक्लपक्षमा विशेष श्रद्धा र उत्साहका साथ मनाइने यो पर्व आधुनिक जीवनशैली, आर्थिक भार, बसाइँसराइ तथा युवापुस्ताको घट्दो सहभागिताका कारण विस्तारै हराउँदै गएको हो।
घाटो पर्व विशेषगरी थारू समुदायका अविवाहित युवतीहरूसँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परा हो। असल वर प्राप्तिको कामनासहित युवतीहरूले माता गौरी (पार्वती) को पूजा–अर्चना गर्ने मान्यता रहेको छ। यस क्रममा युवतीहरूले गाउँका कुनै एक घरको आँगनमा माटोबाट माता गौरीको मूर्ति निर्माण गरी स्थापना गर्ने र बिहान–बेलुका नियमित पूजा गर्ने परम्परा रहिआएको थियो।
पर्व अवधिभर युवतीहरू समूहमा भेला भई घाटो गीत, चैतार गीत गाउँदै झमटा नाँच प्रस्तुत गर्ने गर्थे। गाउँभरि उल्लासपूर्ण वातावरण सिर्जना हुने र सामूहिक सहभागिताले सामाजिक एकता मजबुत बनाउने यो पर्वको मुख्य विशेषता मानिन्थ्यो।
घाटो पर्वको अर्को महत्वपूर्ण पक्ष भनेको धार्मिक अनुष्ठानसँगै सांस्कृतिक अभ्यासको समिश्रण हो। युवतीहरू गीत गाउँदै (फूल लोरदै) नजिकैका आँपका बगैंचामा पुगेर पात टिपेर ल्याउने र ती पातमा खीर पकाई माता गौरीलाई भोग लगाउने चलन थियो। यसलाई पवित्र र शुभ मानिन्थ्यो। पूजा सम्पन्न भएपछि प्रसाद गाउँका ज्येष्ठ नागरिक तथा अगुवाहरूलाई वितरण गरिन्थ्यो र उनीहरूबाट स्वेच्छिक चन्दा सङ्कलन गरिन्थ्यो।
सङ्कलित चन्दाबाट गाउँमा नाँचगान, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिन्थे, जसले गाउँलाई उत्सवमय बनाउने गर्दथ्यो। यसले सामूहिकता, सहयोग र सांस्कृतिक संरक्षणमा ठूलो योगदान पुर्‍याउने गरेको स्थानीयवासीहरू बताउँछन्।
माता गौरीको मूर्ति सेलाउने दिन पर्वको मुख्य आकर्षणका रूपमा लिइन्थ्यो। सो दिन विशेष रूपमा नाँचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने र गाउँका प्रत्येक घरबाट आफन्तहरूलाई निमन्त्रणा गरिन्थ्यो। कृषि कार्यमा व्यस्त रहने परिवारका सदस्यहरूका लागि यो अवसर भेटघाट, सम्बन्ध सुदृढीकरण तथा रमाइलो गर्ने महत्वपूर्ण समय हुने गर्दथ्यो।
यस अवसरमा ठेकुवा, तेलही रोटी, दूधपुवा लगायतका परम्परागत परिकारहरू तयार गरी छोरी–बहिनी तथा आफन्तहरूलाई कोसेलीका रूपमा पठाउने चलनले पनि सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्थ्यो।
तर, पछिल्ला वर्षहरूमा यी सम्पूर्ण परम्परागत गतिविधिहरू क्रमशः हराउँदै गएका छन्। अहिले घाटो पर्व औपचारिकतामा सीमित हुँदै गएको छ। धेरै स्थानमा एकै दिनमा मूर्ति बनाउने र सोही दिन खोलामा सेलाउने गरी पर्व सम्पन्न गर्ने गरिएको छ। न त पहिलेझैँ गीत–नृत्यको अभ्यास भइरहेको छ, न त सामूहिक पूजा र सांस्कृतिक कार्यक्रमको निरन्तरता कायम रहन सकेको छ।
पटेर्वासुगौली गाउँपालिकाका उपाध्यक्ष तथा थारू कल्याणकारी समितिका केन्द्रीय पार्षद् ममता महतोका अनुसार बदलिँदो समयसँगै युवतीहरू शिक्षा तथा रोजगारीका लागि शहरतर्फ केन्द्रित हुन थालेपछि गाउँमा यस्ता पर्व मनाउने जनशक्ति अभाव हुँदै गएको छ। साथै, आर्थिक रूपमा पनि एउटा बस्तीमा पर्व आयोजना गर्दा लाखौं रुपैयाँ खर्च हुने भएकाले समुदायमा यसप्रति चासो घट्दै गएको उनले बताइन्।
उनले पर्वको संरक्षणका लागि नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँगाउँमा छुट्टाछुट्टै आयोजना गर्नुको सट्टा थारू कल्याणकारी समिति पर्साको पहलमा एकीकृत रूपमा एउटै स्थानमा आयोजना गरेमा यसको मौलिकता जोगाउन सकिने धारणा व्यक्त गरिन्।
अहिले थारू समुदायले घाटो पर्वलाई माघी तथा अन्य सांस्कृतिक कार्यक्रममा प्रदर्शनका रूपमा मात्र सीमित गर्न थालेका छन्, जसले यसको मौलिक धार्मिक तथा सांस्कृतिक महत्व क्रमशः कमजोर बनाउँदै लगेको देखिन्छ।
यदि समयमै संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सचेतना अभिवृद्धि गर्न सकिएन भने थारू समुदायको यो महत्वपूर्ण सांस्कृतिक सम्पदा इतिहासमा मात्र सीमित हुने खतरा बढ्दै गएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन मेयर सिंहद्वारा निर्देशन

थारु एक्सप्रेस

बार डे–२०८२ को अवसरमा वीरगञ्जमा प्रभातफेरी सम्पन्न

थारु एक्सप्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्रबाट किसानले अधिकतम लाभ लिनुहोस् : मन्त्री परियार

थारु एक्सप्रेस