TharuExpress
Uncategorized

अङ्ग्रेजी नयाँ वर्षलाई ठोरीको पर्यटन प्रवर्द्धनको अवसरमा रूपान्तरण गर्ने समय

सन्तोष श्रेष्ठ, ठोरी गाउँपालिका १६ पुस।
ठोरी गाउँपालिका नेपाल–भारत सिमानामा अवस्थित एक महत्वपूर्ण भौगोलिक तथा पर्यटकीय क्षेत्र हो। प्राकृतिक सौन्दर्य, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधता र सीमावर्ती पहिचानका कारण ठोरी पछिल्ला वर्षहरूमा विशेषगरी अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। केही वर्षअघिसम्म सीमित रूपमा देखिने पर्यटक आगमन हाल आएर नेपालका अन्य धेरै गन्तव्यहरूको तुलनामा ठोरीमा बढी चाप देखिन थालेको छ।
यस्तो अवस्थामा अब हामीले केवल भीड देखेर सन्तुष्ट हुने मात्र होइन, त्यसलाई व्यवस्थित, मर्यादित र दीगो पर्यटन अवसरमा रूपान्तरण गर्ने दिशामा गम्भीरतापूर्वक अघि बढ्ने समय आएको छ। नयाँ वर्षमा ठोरीमा आउने पाहुनालाई कसरी सन्तुष्टि दिने, उनीहरूलाई ठोरीप्रति सकारात्मक अनुभूति कसरी दिलाउने, यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक र ऐतिहासिक महत्व कसरी बुझाउने तथा उनीहरूलाई पुनः–पुनः ठोरी आउन प्रेरित गर्ने वातावरण कसरी निर्माण गर्ने भन्ने सुनौलो अवसर आज हाम्रो सामु छ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा ठोरी आउने पाहुनालाई आत्मीय स्वागत र सत्कारसँगै सहयोगी व्यवहार प्रदर्शन गर्न सकियो भने त्यसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्न सक्छ। विगतमा गाउँपालिकाले ठोरीको मुख्य प्रवेशद्वारमा पहिलो पाहुनालाई टोपी लगाएर स्वागत गर्ने अभ्यास सुरु गरेको थियो, जुन निश्चय नै सराहनीय पहल थियो। अब त्यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै ठुटेखोला पुलमा आकर्षक स्वागतद्वार निर्माण गरी बिहानदेखि दिउँसो १ बजेसम्म नेपाली राष्ट्रिय पोशाकमा सजिएका महिला–पुरुषले राष्ट्रिय झण्डासहित मौलिक पञ्चेबाजा बजाएर पाहुनाको स्वागत गर्न सके, त्यो दृश्य आफैंमा पर्यटकका लागि अविस्मरणीय बन्न सक्छ।
साथै ठुटेखोला पुल क्षेत्रमा ठोरीमा बसोबास गर्ने विभिन्न जातीय समुदायका परम्परागत भेषभूषा झल्किने स्वागत टोलीको प्रस्तुति गर्न सकियो भने ठोरीको बहुसांस्कृतिक पहिचान सशक्त रूपमा उजागर हुनेछ, जसले पाहुनाहरूलाई अझ आकर्षित र प्रफुल्लित बनाउनेछ।
त्यसैगरी नेपाली मौलिक संस्कृति झल्किने हस्तकला, स्थानीय परिकार तथा परम्परागत सामग्रीहरूको प्रदर्शनी तथा बिक्रीका लागि छुट्टाछुट्टै स्टलहरूको व्यवस्था गर्न सके, ठोरीको परम्परागत पहिचान थप लोकप्रिय बन्नेछ। पर्यटकलाई आवश्यक जानकारी, सहयोग र मार्गदर्शन प्रदान गर्न ठाउँ–ठाउँमा सहयोगी डेस्क स्थापना गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ। परिचयपत्रसहित स्वयंसेवक परिचालन गरी पाहुनालाई सहयोग र सत्कार प्रदान गर्न सकियो भने ठोरीको पर्यटन प्रवर्द्धनमा अत्यन्त सकारात्मक सन्देश जाने विश्वास गर्न सकिन्छ।
यसरी व्यवस्थित सत्कार, सांस्कृतिक प्रस्तुति र समन्वित व्यवस्थापनमार्फत ठोरीलाई केवल अङ्ग्रेजी नयाँ वर्ष मनाउने भीडको गन्तव्य मात्र नभई, एक उदाहरणीय सीमावर्ती पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ। हजारौँ पाहुनालाई राम्रो सत्कार गर्न सके, लाखौँ मानिससम्म ठोरीको सकारात्मक सन्देश फैलाउने यो सुनौलो अवसर हो।
यसका लागि निकुञ्ज, मध्यवर्ती समिति, स्थानीय सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, युवा समूह, पर्यटन व्यवसायी र सर्वसाधारणलगायत सबै सरोकारवालाको सहकार्य र सामूहिक प्रयास अपरिहार्य छ। ठोरीको पर्यटन क्षेत्रमा ठूलो छलाङ तत्काल सम्भव नहुन सक्छ, तर कम्तीमा यहाँ आउने पाहुनालाई राम्रो सत्कार गर्न सकियो भने ठोरीको पर्यटनमा नयाँ र सकारात्मक मोड सुरु हुनेमा कुनै दुविधा छैन।
त्यसैले अङ्ग्रेजी वर्ष २०२६ लाई एउटा अवसरका रूपमा लिँदै, यस दिशामा सोच्न र अघि बढ्न हामी सबैले साझा संकल्प गरौँ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ठोरीको वृद्ध–वृद्धा आश्रममा उपकार सेवा नेपालको मानवीय सहयोग

थारु एक्सप्रेस

पटेर्वासुगौलीमा थारु सम्बत २६५० तथा पाँचौँ माघी खिचडी महोत्सव सम्पन्न

थारु एक्सप्रेस

कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन मेयर सिंहद्वारा निर्देशन

थारु एक्सप्रेस