TharuExpress
खेलकुद

उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग महाभिडन्त

काठमाडौं, मंसिर २७
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलोपल्ट नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्ने लक्ष्यसहित शनिबार आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेलमा दुवै टोलीका लागि इतिहास रच्ने अवसर छ।

सुदूरपश्चिम सुरुदेखि नै उपाधिको दाबेदारका रूपमा हेरिँदै आएको टोली हो। दोस्रो सिजनभर उत्कृष्ट प्रदर्शन गरेको साबिक उपविजेता सुदूरपश्चिमले लिग चरणमा सात जित निकाल्दै आफूलाई सबैभन्दा सन्तुलित टोलीका रूपमा स्थापित गरेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिमले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ।

सुदूरपश्चिमका विनोद भण्डारी यस सिजनका सर्वाधिक रनकर्तामध्ये दोस्रो स्थानमा छन्। उनले २६४ रन बनाएका छन् भने बलिङतर्फ अविनाश बोहोरा १६ विकेटसहित दोस्रो स्थानमा छन्। कप्तान दीपेन्द्रसँगै आरिफ शेख, शेल्डन ज्याक्सन र मुख्तर अहमद ब्याटिङका महत्त्वपूर्ण आधार हुन्। बलिङमा अविनाशसँगै हरमित सिंह र स्कट कुग्गेलिन सुदूरपश्चिमका मुख्य हतियार हुन्।

content left

लुम्बिनी लायन्सको फाइनल यात्रा भने चुनौतीपूर्ण रह्यो। लिग चरणको सुरुआतमा लगातार हार बेहोरेको लुम्बिनीलाई प्लेअफमा पुग्न कठिन देखिएको थियो। तर कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम तीन खेल जित्यो र चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गर्‍यो।

प्लेअफमा लुम्बिनीले आफ्नो खेलस्तरलाई अझ उकास्दै काठमान्डु गोर्खाज र विराटनगर किङ्सलाई पराजित गर्‍यो। उत्कृष्ट बलिङ र धैर्यपूर्ण ब्याटिङका कारण लुम्बिनीले ‘अन्डरडग’को छवि तोड्दै पहिलोपल्ट फाइनलको यात्रा तय गरेको हो।

लुम्बिनीका स्पिनर शेर मल्ल र तीव्र गतिका बलर रुबेन ट्रम्पेलमेनले प्लेअफका दुवै खेलमा विपक्षीको शीर्षक्रम ध्वस्त पारेका थिए। शेर १४ विकेटसहित सर्वाधिक विकेटकर्ताको सूचीमा तेस्रो स्थानमा छन् भने ट्रम्पेलमेनले १२ विकेट लिइसकेका छन्। कप्तान रोहित सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा रहँदै २६० रन बनाइसकेका छन् र सात विकेटसमेत लिएका छन्।

फाइनलमा सुदूरपश्चिमको सन्तुलित टोली र लुम्बिनीको बलियो बलिङ आक्रमणबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। पहिलो उपाधि जित्ने दबाब दुवै टोलीमा समान रहनेछ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा  हिजोदेखि दोस्रो जिराभवानी मेयर कप २०८१ शुरु

थारु एक्सप्रेस

पौडेलको लुम्बिनी लाइन्सद्वारा NPL उपाधि कब्जा; रोसिङटनको सर्वाधिक रन, विकेटमा तीन जनाको संयुक्त राज।

थारु एक्सप्रेस

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस