TharuExpress
अन्तराष्ट्रिय आर्थिक खेलकुद बिचार/अन्तरबार्ता मनोरंजन मुख्य समाचार राष्ट्रिय शिक्षा समाचार समाज स्थानिय स्वास्थ्य

वीरगञ्जमा खानेपानीको हाहाकार

पर्सा श्रावन १२ – खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कामलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न ठाउँमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।

महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो । बिहान ५ बजेदेखि राति ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने मेयर सिंहको भनाइ छ ।

ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सात वटा वडाको विभिन्न ठाउँमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ । यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक ठाउँमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।

content left

खानेपानीको पाइप लाइन वडा नम्बर १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक ठाउँमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिनुभयो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ ।

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ ।

महानगरभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेका नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख ई. नीरन महर्जनले जानकारी दिनुभयो ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घन्टा धारामा पानी पठाउँदै आएको छ । ‘पहिला चापाकलबाट पानी आउँथ्यो, त्यति बेला खानेपानीको धारा लिन स्थानीयले रुचि देखाएनन्’, उहाँ भन्नुहुन्छ, ‘तर अहिले चापाकललगायत खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ ।’ धारा लिन आउनेलाई ग्राहक बनाएर धारा दिइरहेको उहाँको भनाइ छ ।

एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगञ्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख ई. महर्जन बताउनुहुन्छ ।

वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनासमेत अघि बढाएको उहाँको भनाइ छ । ‘हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ’, प्रमुख महर्जनले भन्नुभयो, ‘यो सम्झौताअनुसार वडा–वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता गठनलगायतको प्रक्रिया शुरु गरिसकेका छौँ । छिट्टै त्यो काम गर्छौँ र खानेपानी पुर्‍याउँछौँ ।’

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

नागको पूजा अर्चना गरी घरका मूलढोकामा नाग को तस्बिर टाँसेर मनाइँदै

थारु एक्सप्रेस

न्यु सनलाइट युवा स्पोर्ट्स क्लब द्वारा लागु तथा दुब्यसन कार्यक्रम सम्पन…

थारु एक्सप्रेस

थारु कल्याणकारी समिति पर्साद्वारा थारु समुदायका व्यक्तित्वहरु समानित

थारु एक्सप्रेस