वीरगञ्ज, असोज ५
सञ्जय दास थारु
महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरमा बन्न सक्ने गाँठो अर्थात् फाइब्रॉइड (Uterine Mass/Fibroid) सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जानकारीमूलक सामग्री सार्वजनिक गरिएको छ। महिलाको स्वास्थ्य, सुरक्षित मातृत्व र स्वस्थ परिवारलाई केन्द्रमा राख्दै फाइब्रॉइडका लक्षण, प्रकार तथा उपचारका सम्भावित विकल्पबारे जानकारी दिइएको हो।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वेता चौधरीका अनुसार पाठेघरमा बन्ने फाइब्रॉइड महिलामा देखिन सक्ने स्वास्थ्यसम्बन्धी समस्यामध्ये एक हो। पोस्टरमा पाठेघरमा बन्न सक्ने विभिन्न प्रकारका फाइब्रॉइडलाई चित्रमार्फत समेत देखाइएको छ। जसमा सबसेरोसल, इन्ट्राम्युरल र सबम्युकोसल फाइब्रॉइड समावेश छन्।
फाइब्रॉइड भएका सबै महिलामा एउटै किसिमका लक्षण देखिन्छन् भन्ने हुँदैन। केही महिलामा कुनै स्पष्ट लक्षण नदेखिन पनि सक्छ भने केहीमा दैनिक जीवनमा असर पार्ने समस्या देखिन सक्छ। पोस्टरमा सम्भावित लक्षणका रूपमा धेरै महिनावारी हुने, तल्लो पेट तथा पेल्भिक क्षेत्रमा दुखाइ हुने, आवश्यक अवस्थामा प्रजननसम्बन्धी समस्या, रगतको कमी तथा थकान जस्ता समस्या उल्लेख गरिएको छ। केही अवस्थामा पिसाबसम्बन्धी समस्या समेत देखिन सक्ने जनाइएको छ।
विशेषगरी महिनावारीको समयमा सामान्यभन्दा धेरै रक्तस्राव हुने, लामो समयसम्म रक्तस्राव भइरहने, तल्लो पेटमा निरन्तर दुखाइ वा असहजता हुने जस्ता समस्या देखिएमा त्यसलाई सामान्य ठानेर बेवास्ता नगरी स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्ने हुन्छ।
उपचारका विभिन्न विकल्प
फाइब्रॉइडको उपचार बिरामीको अवस्था, लक्षण, गाँठोको आकार तथा स्थान र चिकित्सकीय मूल्यांकनका आधारमा फरक हुन सक्छ। पोस्टरमा उपचारका विकल्पमध्ये ल्याप्रोस्कोपिक अर्थात् न्यूनतम चिरफारबाट गरिने शल्यक्रिया तथा आवश्यक वा उपयुक्त अवस्थामा खुला शल्यक्रियाका विकल्प उल्लेख गरिएको छ।
कुन बिरामीका लागि कुन उपचार उपयुक्त हुन्छ भन्ने निर्णय चिकित्सकको परीक्षण र सल्लाहअनुसार गर्नुपर्ने हुन्छ। त्यसैले स्वास्थ्यसम्बन्धी समस्या देखिएमा आफैं औषधि सेवन गर्नु वा उपचारको निर्णय गर्नुभन्दा सम्बन्धित स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ।
“महिलाको स्वास्थ्य, हाम्रो प्राथमिकता” भन्ने सन्देशसहित तयार गरिएको सामग्रीमा “Healthy Women, Healthy Families” अर्थात् स्वस्थ महिला भए स्वस्थ परिवार निर्माणमा सहयोग पुग्ने विषयलाई प्राथमिकता दिइएको छ। सुरक्षित मातृत्व, स्वस्थ परिवार र उज्ज्वल भविष्यका लागि महिलाको स्वास्थ्यलाई समयमै प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
