वीरगञ्ज , भदौ २०
पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहाँ मैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाउपुल–भिष्वा सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार तिलाउपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो निसान कारलाई रोकी चेकजाँच गर्दा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए।
ती पोका खोलेर जाँच गर्दा प्लास्टिकसहित ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ बस्ने २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ। प्रहरीले कार र बरामद गाँजा नियन्त्रणमा लिई चेपाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
