TharuExpress
समाचार

पाँचबुँदे सहमति अस्वीकार गर्दै गरिमा चौधरीका परिवारको आन्दोलन जारी

वीरगंज , भाद्र ५

 

तीन वर्षीया गरिमा चौधरीको मृत्युको घटनालाई लिएर आन्दोलनरत पक्ष र जिल्ला सुरक्षा समितिबीच पाँचबुँदे सहमति भए पनि मृतकका परिवारले उक्त सहमति अस्वीकार गरेका छन्। आफूहरूसँग पर्याप्त छलफल नगरी सहमति गरिएको भन्दै परिवारले विरोध जनाएका हुन्।

 

भदौ ४ गते सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा मृतकका अभिभावक, आफन्त, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला सुरक्षा समितिबीच भएको छलफलमा पाँचबुँदे सहमति भएको थियो।

 

content left

सहमतिमा पीडित परिवारलाई उचित राहत तथा रोजगारीका लागि गृह मन्त्रालयसमक्ष सिफारिस तथा पहल गर्ने, घटनामा थप दोषी देखिए कानुनअनुसार कडा कारबाही अघि बढाउने र जिल्लाको सुरक्षा अवस्थाको पुनरावलोकन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउने उल्लेख छ।

 

त्यस्तै, घटनाका समयमा इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रही लापरवाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने माग पूरा भइसकेको जनाइएको थियो। सहमतिपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णयसमेत गरिएको थियो।

 

तर मृतकका परिवारले भने मुख्य माग सम्बोधन नभएको भन्दै पाँचबुँदे सहमति आफूहरूलाई मान्य नभएको बताएका छन्। परिवारले सहमतिमा आफूहरूको वास्तविक माग समेटिएको नदेखिएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन्।

 

परिवार तथा स्थानीयवासीले जीतपुरसिमरा क्षेत्रसँगै वीरगञ्ज–पथलैया सडकखण्डमा सवारीसाधन सञ्चालनमा अवरोध गर्दै प्रदर्शन गरिरहेका छन्। सडकमा सवारी आवागमन प्रभावित भएपछि यात्रु तथा मालवाहक सवारीसाधनसमेत समस्यामा परेका छन्।

 

गरिमा चौधरीको मृत्युको घटनामा प्रहरीले समयमै खोजी तथा अनुसन्धान नगरेको भन्दै परिवार र स्थानीयवासीले सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले घटनामा संलग्न दोषी तथा लापरवाही गर्ने सबैमाथि कडा कारबाही हुनुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको जिराभवानी गाँउपालिकामा गएराती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

थारु एक्सप्रेस

समुदायक विधालय गढैयामा जनही चार सय रुपैयाका दरले छात्रबृति बितरण कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

आज दशैँको मुख्य दिन, विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

थारु एक्सप्रेस