TharuExpress
Uncategorized

संविधानसभा सदस्य जयप्रकाश थारुले त्यागे एमाले, नेकपामा प्रवेश

पुस ११, पर्सा
संविधानसभा सदस्य तथा नेकपा एमालेका पूर्व पर्सा जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारु नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ। लामो समयदेखि एमालेमा सक्रिय रहनुभएका तथा एमाले मधेस प्रदेश समिति सचिवालय सदस्य थारुसहित झण्डै सात दर्जनभन्दा बढी नेता–कार्यकर्ता शुक्रबार नेकपामा प्रवेश गरेका हुन्।
जीराभवानी गाउँपालिका लगायत पर्साका विभिन्न स्थानका नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको जानकारी नेकपाका सक्रिय सदस्य घनश्याम रिसालले दिनुभयो।
काठमाडौँस्थित पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संविधानसभा सदस्य थारुलगायत नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो। कार्यक्रममा नेकपा ठोरीका नेता घनश्याम रिसाल पनि सहभागी रहनुभएको थियो।
थारुसँगै ठोरी गाउँपालिकाका चर्चित तथा पुराना नेता लेखमान थापा पनि नेकपामा प्रवेश गर्नुभएको छ। सुवर्णपुर निवासी थापा विवादरहित र सादगी छविका नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँ यसअघि एमालेमा सक्रिय रहनुभएको थियो।
भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर थारुले पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको थियो। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट हुँदै पार्टी परित्याग गर्ने निर्णय गरेको थारुको भनाइ छ।
थारुले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दिने तयारी गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ। उहाँले दोस्रो संविधानसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी हुनुभएको थियो। यद्यपि, त्यसपछिका २०७४ र २०७९ सालमा सम्पन्न दुवै निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका रूपमा उम्मेदवारी दिँदा काँग्रेसका शंकर चौधरीसँग पराजित हुनुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

चिसो बढेपछि वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा

थारु एक्सप्रेस

चिसो बढेपछि पोखरिया नगरपालिकाका विद्यालय पनि ४ दिन बन्द

थारु एक्सप्रेस

बिल बिजकभन्दा बढीको सामानहरू लोड रहेको एउटा ट्रक नियन्त्रणमा

थारु एक्सप्रेस