सेढवा, ४ पुस ।
पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता वडा नम्बर–५ मा रहेको मधुवाहा खेलमैदानमा आयोजना गरिएको हो।
वडा नम्बर–५ का वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, शिक्षा अधिकृत अशोक सिंह तथा मावि संठीका प्रधानाध्यापक रामाधेश चौहानले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा गाउँपालिकाभित्रका दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ। विद्यार्थी खेलाडीहरूबीच विभिन्न एथलेटिक्स विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत १०० मिटर र २०० मिटर दौड (छात्र/छात्रा), हाई जम्प, लङ जम्प (छात्र/छात्रा), शटपुट तथा ज्याभलिन थ्रो (छात्र/छात्रा) लगायतका खेलहरू समावेश गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
