
सञ्जय दास थारु
वीरगञ्ज, असोज २१।
वीरगञ्ज महानगरपालिका–१२ ब्रह्मचोकस्थित ममता विद्या मन्दिर कलेजमा निःशुल्क दन्त परीक्षण तथा स्वास्थ्य परामर्श शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ वीरगञ्ज र लायन्स क्लब अफ लाइफ लाइनको संयुक्त आयोजनामा तथा एभरेस्ट दन्त सेवा केन्द्र प्रालि वीरगञ्जको सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा एभरेस्ट दन्त सेवा केन्द्रका दन्तरोग विशेषज्ञ डा. मनोज उपाध्याय, डा. चन्द्रकान्त पासवान र डा. पुष्कर तिवारीले कलेजमा अध्ययनरत ७५ जना विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेका थिए। परीक्षणपछि विद्यार्थीलाई दन्त स्वास्थ्य, नियमित दन्त हेरचाह तथा स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत दिइएको लायन्स क्लब अफ लाइफ लाइनका सचिव लालबाबु सिंहले जानकारी दिए।
लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष गोविन्द प्रसाद कानुको अध्यक्षता तथा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा लायन्स क्लबका एरिया चिफ सुनिल कुमार गुप्ता, रिजन चेयरपर्सन डा. मनोज उपाध्याय, रिजन चेयरपर्सन भानुभक्त अधिकारी, डा. चन्द्रकान्त पासवान, डा. पुष्कर तिवारी, ममता विद्या मन्दिर कलेजका अध्यक्ष शम्भु प्रसाद गुप्ता, प्रबन्ध निर्देशक विश्वास साह, प्रधानाध्यापक डा. रामप्रसाद सोनी, लियो क्लबका सुशील प्रसाद कुशवाहा, रामपुकार प्रसाद यादव, झलक कुमार साहलगायतको उपस्थिति थियो। कार्यक्रममा एभरेस्ट दन्त सेवा केन्द्रका सहयोगी, कलेजका शिक्षक तथा विद्यार्थीको समेत सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले लायन्स क्लबको ‘हामी सेवा गर्छौं’ भन्ने मूलमन्त्रअनुसार स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनले ‘स्वास्थ्य नै धन हो’ भन्ने मान्यतालाई आत्मसात गर्दै विद्यार्थीले आफ्नो स्वास्थ्यप्रति सचेत र जागरुक हुनुपर्नेमा जोड दिए।
शिक्षाको मन्दिरका रूपमा रहेको कलेजमा अध्ययनरत विद्यार्थीको निःशुल्क दन्त परीक्षणसँगै स्वास्थ्य सचेतना फैलाउने अवसर प्राप्त भएको उल्लेख गर्दै पाण्डेले शिविर आयोजना गर्ने दुवै लायन्स क्लब, सहयोगी एभरेस्ट दन्त सेवा केन्द्र तथा कलेज परिवारलाई धन्यवाद दिए।
कलेजका अध्यक्ष एवं समाजसेवी शम्भु प्रसाद गुप्ताले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै स्वास्थ्य सचेतना र अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको बताए। विद्यार्थीको स्वास्थ्य तथा अध्ययनसँग प्रत्यक्ष सम्बन्धित विषयमा कलेजले समय–समयमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उनको भनाइ थियो।
लायन्स क्लबको टोलीले विशेषज्ञ चिकित्सकसहित कलेजमै आएर विद्यार्थीको दन्त परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरेकोमा गुप्ताले आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष गोविन्द प्रसाद कानुले शिविर सञ्चालनमा सहयोग गर्ने एभरेस्ट दन्त सेवा केन्द्रका चिकित्सक तथा सहयोगी टोली, कलेज परिवार र कार्यक्रममा सहभागी क्लबका सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे।
शिविरमार्फत विद्यार्थीको दन्त स्वास्थ्य परीक्षण गर्नुका साथै नियमित दन्त हेरचाह, स्वास्थ्य सचेतना र आवश्यक परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ।
लायन्स क्लबको पहलमा ७५ विद्यार्थीको निःशुल्क दन्त परीक्षण
प्रतिक्रिया लेख्नुहोस
