सेढवा १८ साउन /
पर्साको जिराभवानी गाँउपालिकाको अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा लगाइएको ताल्चा आज खुलेको छ। गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा बिभिन्न शाखाका शाखा प्रमुखहरू र सर्वसाधारण बीचको सर्वपक्षिय संवादपछि अगुवा कृष्ण चौधरीले पालिका अध्यक्ष चौधरीलाई ताल्चाको साचो हस्तान्तरण गरेका थिए।
जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षिय संवाद कार्यक्रममा वडा नं ५ मा संचालनमा रहेको लक्ष्मी ह्याचरी बन्द गर्ने अदालतले फैसला गरी निर्देशन दिए बन्द किन नभएको भन्दै सर्वसाधारणले प्रश्न गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले अदालतको फैसला भएपनि अदालत कै प्रक्रियागत कार्यन्वन हुने बताए। सो ह्याचरीका कारणले नजिक रहेको हरैया, बसन्तपुर लगायतको गाउँमा झिङ्गा भन्किने तथा प्रदुषण बढेको भन्दै सर्वसाधारणले पालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए। समितिले ह्याचरी बन्द गर्ने निर्देशन दिएर भत्काउने परिपत्र गर्दा ह्याचरीको संचालकले तत्काल बन्द गर्न स्टे अडर ल्याएका थिए। पालिकाको समन्वयमा मुद्दा चल्दै जादा पालिकाको पक्षमा फैसला आएको छ।
आयोजित सर्वपक्षिय संबादमा आमनागरिकहरुले माग गरेको आर्थिक बर्ष २०८२/८३ सालको रातो किताब प्रमुख प्रशासकीय अधिकृत गिरीले उपलब्ध गराएका थिए। साथै नेपाल सरकारको अनुदानित रासायनिक मल बितरणमा अनियमितता भएको भन्दै कृषि सहकारी संस्था तथा मलको परिमाणको तथ्याङ्क माग गरिएको थियो। पालिका शाखाको प्रमुख रिन्कु चौधरीले उपलब्ध गराएका थिए। यसका साथै पालिकाको वडा नं २ मा संचालित आर्दश बिद्युत उपभोक्ता समिति सेढवाको साधारण सभा नगरेको, शिक्षाको गुणस्तरमा कमि, उद्योग तथा व्यवसाय दर्ताको निति,ऐतिहासिक जिराभवानी मन्दिरको मेला र ठेक्का, व्यवस्थापन तथा संरक्षण, बिओपी जिराभवानीको व्यवस्थापन, पालिकाको प्रशासनिक भवन, कार्यालयमा कर्मचारी र जनउत्तरदायी जनप्रतिनिधिको नियमित उपस्थिति तथा बालबालिकाहरुमा बढ्दै गएको कुलतको बिषयमा बृहत छलफल भएको थियो। जनप्रतिनिधि तथा कर्मचारीहरुले जनताको सेवा प्रवाहमा कमि नभएको र त्यस्ता कार्यमा थप्प सुधार गर्ने प्रतिबद्धता समेत गरेका छन। यसको अलावा पालिकामा आउने संघीय, तथा प्रदेशको अनुदान कटौती हुदाको रकम, आन्तरिक स्रोतको रकम, बार्षिक आय व्ययको बिबरण समेत माग गर्ने सर्वसाधारणको अगुवा कृष्ण चौधरीले माग गर्ने बताए। सूचना माग गर्नु आम नागरिको बैधानिक अधिकार रहेको बताउदै गाउँपालिका अध्यक्ष अनोज चौधरीले प्रक्रियागत रुपले जुन पनि सूचना माग गर्नु सकेसम्म छिटोभन्दा छिटो सेवा प्रवाह गर्न तत्पर रहेको बताए।
सर्वपक्षिय संवाद कार्यक्रममा पालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी वडाध्यक्ष रामशरण ख्वास, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्या सरोज चौरसिया लगायतले जवाफ दिएका थिए।
सावन ४ गते सर्वसाधारण सहितको टोलीले जनप्रतिनिधि र कर्मचारीहरुको बीच संवाद गर्न माग गर्दै पालिकामा पत्र दर्ता गरेका थिए। पत्र अनुसार सावन १३ संवाद गर्ने कार्यक्रम गर्ने समय तय गरिएको थियो। तर गापा अध्यक्ष अनोज चौधरीको आफ्नो व्यक्तिगत कार्यको कारण उपस्थित नहुँदा नागरिकहरुले अध्यक्ष चौधरीको कार्यकक्षमा ताल्चा लगाएको थियो।
