TharuExpress
शिक्षा

विद्यालयमा सबै कर्मचारी एकै परिवारका

गौर नगरपालिका–४ स्थित टिकुलिया गाउँको पूर्वपट्टि खेतमा जस्ताले छाएको विद्यालय भवन छ । जीर्ण भवनको पछाडिपट्टि ८ र अगाडि ४ वटा झ्यालमा फलामको एंगल लगाइएको छ । तर, पल्ला छैन । सबै खुल्ला छन् । अगाडि चारवटा जीर्ण ढोका छन् ।

कक्षाकोठा हेर्दा जोकोहीलाई विद्यालय हो भन्ने लाग्दैन । विद्यालयमा बुबा व्यवस्थापन समिति अध्यक्ष, छोरा कार्यालय सहायक, बुहारी प्रधानाध्यापक, नातिनी राहत शिक्षिका, अर्का बुहारी बाल शिक्षिका भएर सञ्चालन गर्दै आएका छन् ।

०६३ सालमा स्थापना भएको विद्यालय भनेर बोर्ड झुन्ड्याइएको छ । कक्षा ६ सम्म पढाइ हुने प्राथमिक विद्यालय टिकुलियामा अहिले ४ देखि १२ जनासम्म विद्यार्थी आउँछन् । कक्षा १ मा ६ जनामात्र भर्ना छन् । कक्षा २ मा चार, ३ मा १२, ४ मा १३, ५ मा १२ र कक्षा ६ मा ३ जना विद्यार्थी भर्ना छन् । बाल विकास कक्षामा ४ जना छन् । १५ वर्षदेखि सञ्चालित विद्यालयको भौतिक अवस्था दयनीय छ । गौरका शिक्षा शाखा प्रमुख विनयलाल दासले नाम मात्रको विद्यालयलाई स्पष्टीकरण सोधिएको बताए । ‘एउटै परिवारका सदस्य मिलेर विद्यालय चलाउँदै आएका रहेछन् । अख्तियारले समेत छानबिनका लागि पत्र पठाएको छ,’ उनले भने, ‘हामी आन्तरिक अनुसन्धानमा लागेका छौं । चाँडै नै यथार्थ बाहिर आउँछ ।’

content left

दासका अनुसार व्यवस्थापन समिति अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापक उनकी बुहारी सावित्री, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव छन् । अशोक प्रधानाध्यापक सावित्रीका श्रीमान् हुन् । यादवको राजनीतिक पहुँचका कारण स्थानीयले खुलेर विरोध गर्न नसकेको स्थानीय ओमकुमार साहले बताए । ‘विद्यालयको हालत बिजोग छ । बालबालिका पढ्ने कक्षाकोठा खत्तम छ,’ उनले भने, ‘नाममात्रका यस्ता विद्यालय अन्यत्र मर्ज गर्नुपर्छ । यसले सिंगो नगरपालिकाकै बेइज्जत गरेको छ

सदरमुकाममै नाममात्रको विद्यालय सञ्चालनमा रहेको जानकारी पाएपछि केही दिनअघि गौरका प्रमुख शम्भु साहसहितको टोली टिकुलिया पुगेको थियो । विद्यालयमा बालविकासदेखि कक्षा ६ सम्मका २४ जना विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइरहेको पाइएको थियो । विद्यालयमा कोही शिक्षक थिएनन् । कार्यालय सहयोगी अशोकमात्रै थिए । उनी विद्यार्थीको बीचमा बसेका थिए । कार्यालय सहयोगी अशोकले कहिलेकाहीं पढाउने गरेको विद्यार्थीले गुनासो पोखे । ‘एकै परिवारका सदस्यले सञ्चालन गरेको विद्यालयको अवस्था दुःखलाग्दो रहेछ । नाममात्रको विद्यालय बन्द गर्ने प्रक्रियामा लागेको छु,’ नगर प्रमुख साहले भने, ‘विद्यालयमा अहिलेसम्म के–कति बजेट आयो । दिवाखाजामा कति रकम गयो भन्ने शिक्षा शाखालाई यथार्थ विवरण लिन भनेको छु ।’ नगरले प्रधानाध्यापक सावित्रीसित स्पष्टीकरण सोधे पनि अहिलेसम्म जवाफ दिएकी छैनन् ।

आधारभूत विद्यालयको बिजोग

चन्द्रपुर नगरपालिकामा पनि अधिकांश आधारभूत विद्यालयको अवस्था नाजुक छ । विद्यालयमा विद्यार्थीको संख्या धेरै देखाइए पनि आधाजसो मात्रै पढ्न आउँछन् । चन्द्रपुर–६ स्थित मोथियाही, बेतौना, फतुवा बिजयपुर नगरपालिकाको गम्हरिया टोलमा रहेको दलित प्राविको अवस्था दयनीय छ । कतिपय विद्यालयमा बालबालिका भुइँमै बोरा ओछ्याएर पढ्न बाध्य छन् । शिक्षा विकास तथा समन्वय इकाइ गौरका प्रमुख रामविनय सिंहले भौतिक संरचनाको अभावले जिल्लाभरिका आधारभूत विद्यालयको अवस्था दयनीय बनेको बताए ।

‘जिल्लाका १८ वटा स्थानीय तहमा झन्डै ४ सय हाराहारी आधारभूत विद्यालय छन् । यी सबैको भवन, भौतिक संरचना पर्याप्त छैनन्,’ उनले भने, ‘नगरपालिकाले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्ने हो । तर त्यसो गरेको पाइएको छैन ।’ इकाइ प्रमुख सिंहका अनुसार फतुवाविजयपुर–७ मा रहेको रामबहादुर गृसनन्दन आधारभूत विद्यालय नामको मात्र छ । यहाँ विद्यार्थी संख्या न्यून छ । शिक्षक एकजना पनि दरबन्दी छैन् । विद्यालयलाई अन्यत्र मर्ज गर्ने भनिए पनि राजनीतिक दबाबका कारण नसकिएको उनले बताए । उक्त विद्यालयको पनि अख्तियारले छानबिन गरेको छ ।

चन्द्रपुर–१० स्थित पडहरियाको जनप्रिय आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालयमा कक्षा २, ३, ४ र ५ का विद्यार्थी एउटै कोठामा राखेर पढाइन्छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी भर्ना संख्या न्यून छ । अहिले सख्या बढाउन भर्ना अभियानमा शिक्षकहरू लागेका छन् । शिक्षक, शिक्षिका तीन जना छन् । विद्यालयमा कक्षा कोठा र डेक्सबेन्चको अभाव छ । सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । अधिकांश स्थानीय तहका आधारभूत विद्यालयमा भौतिक संरचनाको अभाव छ । भवन भए पनि कक्षाकोठा, डेक्स, बेन्च गतिला छैनन् । केहीमा शिक्षकको पनि अभाव छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

समुदायक विधालय गढैयामा जनही चार सय रुपैयाका दरले छात्रबृति बितरण कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

शिक्षाको आधार बन्दै आदर्श थारु छात्रावास

थारु एक्सप्रेस

दिपनारायण आदर्श नमुना माविमा छात्राहरूका लागि आत्मरक्षा तालिम उत्साहजनक रूपमा जारी

थारु एक्सप्रेस