जिराभवानी, माघ ३।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले कृषि तथा पशुपन्छी सेवा केन्द्रमार्फत किसानले धेरैभन्दा धेरै लाभ लिनुपर्नेमा जोड दिनुभएको छ।
पर्साको जिराभवानी र पटेर्वासुगौली गाउँपालिकामा निर्माण गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्रका नव–निर्मित आधुनिक भवनहरूको उद्घाटन तथा पालिकालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले कतिपय स्थानमा करोडौँ रुपैयाँको लगानीमा बनेका सरकारी संरचना प्रयोगविहीन बनेको उल्लेख गर्नुभयो। उहाँले यी भवनहरू पालिकाले स्वामित्वमा लिएपछि प्रभावकारी रूपमा सञ्चालन गरी आम नागरिकलाई सरल र सुलभ सेवा प्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो।
मन्त्री परियारका अनुसार सेवा केन्द्रमार्फत किसानले माटो परीक्षण, बीउ परीक्षण तथा बालीमा देखिने विभिन्न रोगहरूको सूक्ष्म परीक्षण गरी समयमै उपचार गर्न सक्नेछन्। साथै आधुनिक उपकरणको प्रयोगबाट पशुपन्छीको रगत परीक्षण गरी रोग पहिचान तथा उपचार गर्दा व्यवसायिक तथा परम्परागत पशुपालनमा हुने ठूलो क्षतिबाट किसान जोगिन सक्ने उहाँले बताउनुभयो।
यी केन्द्रहरू दीर्घकालीन रूपमा प्रभावकारी बनाउन पालिकाले समय–समयमा भवन मर्मत, उपकरणको संरक्षण, आवश्यक केमिकलको व्यवस्थापन तथा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेमा पनि मन्त्री परियारले जोड दिनुभयो।
संघीय सरकारअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा. चन्द्र प्रसाद रिसालले विश्व बैंकको ऋण सहयोगमा उक्त आयोजना देशका ६ वटा प्रदेशका ३५ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार १७१ वटा पालिकामध्ये ७४ वटामा आयोजना सञ्चालनमा रहेको छ भने मधेश प्रदेशमा मात्रै ८४ वटा पालिकामा काम भइरहेको र हालसम्म २५ वटा पालिकामा भवन हस्तान्तरण भइसकेको छ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबास (महोत्तरी) को आयोजनामा जिराभवानी गाउँपालिका वडा नं. ३ मा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो। जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, आर्थिक करिडोर बर्दिबासका प्रमुख राजेश यादव, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख विशेश्वर प्रसाद यादव, जनप्रतिनिधि तथा किसानहरूको सहभागिता रहेको थियो।
त्यस्तै पटेर्वासुगौली गाउँपालिकाको आयोजनामा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले सभापतित्व गर्नुभएको थियो। दुई तल्ले आधुनिक भवनमा कृषि तथा पशुपन्छीसम्बन्धी परीक्षणका आधुनिक उपकरण, आवश्यक फर्निचर, अपाङ्गमैत्री तथा महिलामैत्री संरचना उपलब्ध रहेको जनाइएको छ।
कृषि तथा पशुपन्छी सेवा केन्द्रबाट किसानले अधिकतम लाभ लिनुहोस् : मन्त्री परियार
प्रतिक्रिया लेख्नुहोस
