आर.के. चौधरी / पौष २४, पर्सा
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्बन्धी दुईदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएको तालिम मिति २०८२/०९/२३ र २४ गते सखुवाप्रसौनी स्वास्थ्य चौकीमा सम्पन्न भएको हो।
तालिम कार्यक्रम सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मीला बिष्ट महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, नेशनल मेडिकल कलेजका प्रध्यापक डा. पुरुषोत्तम सिंह, मार्केटिङ्ग म्यानेजर जितेश चन्द्र दास, विश्व स्वास्थ्य संगठन (WHO) का डा. कमलेश यादव तथा मधेश प्रदेश सहजकर्ताको उपस्थिति तथा सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य समुदायस्तरमा बढ्दै गइरहेका मानसिक स्वास्थ्य समस्या तथा मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोगहरूको प्रभावकारी पहिचान, उपचार र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएका छन्।
अध्यक्षीय मन्तव्यमा उपाध्यक्ष शर्मीला बिष्ट महतोले मानसिक स्वास्थ्य र नसर्ने रोग आजका प्रमुख जनस्वास्थ्य चुनौती भएको उल्लेख गर्दै यस्ता तालिमले स्वास्थ्यकर्मीहरूलाई अद्यावधिक ज्ञान प्रदान गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर विभिन्न जनस्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो।
नेशनल मेडिकल कलेजका प्रध्यापक डा. पुरुषोत्तम सिंहले मानसिक स्वास्थ्य तथा नसर्ने रोगको वैज्ञानिक पक्षबारे जानकारी दिँदै प्रारम्भिक पहिचान र समयमै उपचार भएमा जटिलता न्यूनीकरण गर्न सकिने बताउनुभयो। समुदायस्तरमा सचेतना फैलाउन स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
त्यसैगरी मार्केटिङ्ग म्यानेजर जितेश चन्द्र दासले स्वास्थ्य सेवा प्रवाहमा सहकार्य, समन्वय र नवीन प्रविधिको उपयोग आवश्यक रहेको उल्लेख गर्दै निजी तथा सरकारी क्षेत्रको सहकार्यले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न सकिने धारणा राख्नुभयो।
WHO का डा. कमलेश यादवले विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्य र नसर्ने रोगलाई प्राथमिकतामा राख्दै विभिन्न नीति, कार्यक्रम तथा प्रविधिमार्फत सहयोग गर्दै आएको जानकारी दिनुभयो। उहाँले स्थानीय तहमा सञ्चालन हुने यस्ता तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रममा मधेश प्रदेश सहजकर्ताले तालिम सञ्चालन प्रक्रिया र यसको प्रभावकारिताबारे प्रकाश पार्दै सहभागी स्वास्थ्यकर्मीहरूलाई सिकेका ज्ञान कार्यक्षेत्रमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले तालिमको औचित्य र उद्देश्यबारे स्पष्ट पार्दै स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता पुनर्ताजगी तालिम आवश्यक रहेको बताउनुभयो। सहभागी स्वास्थ्यकर्मीहरूले तालिम उपयोगी, व्यवहारिक तथा ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन्।
सखुवाप्रसौनीमा मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
प्रतिक्रिया लेख्नुहोस
