सुवर्णपुर ४ पुस।
पर्साको सुवर्णपुरमा रहेको ज्ञानवाटिका माध्यमिक विद्यालयमा ५५ लाख रुपैयाँको लागतमा थप चार कोठे पक्की भवन निर्माण हुने भएको छ। सो भवनको शिलान्यास शुक्रबार ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ठोरी गाउँपालिकाको लागत साझेदारीमा चालु आर्थिक वर्षमा विनियोजन गरिएको एकमात्र भवन यस वर्ष ज्ञानवाटिका माविमा निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। विद्यालयमा अतिरिक्त कक्षाकोठा सञ्चालन गर्नुपर्ने तथा पुस्तकालय र प्रयोगशालाका लागि कोठाको अभाव देखिएकाले ज्ञानवाटिकालाई भवन निर्माणका लागि छनोट गरिएको उहाँको भनाइ छ।
कक्षा १२ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा भवन अभावकै कारण विभिन्न प्रयोगशाला र पुस्तकालय सञ्चालन हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेवारका अनुसार दुईतल्ले भवनमा २–२ वटा कक्षाकोठा निर्माण गरिनेछ। पुसको पहिलो सातादेखि नै निर्माण कार्य सुरु भइसकेको र आगामी जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। व्यवस्थापन समितिकै प्रत्यक्ष रेखदेखमा प्राविधिक मापदण्डअनुसार गुणस्तरीय रूपमा भवन निर्माण गरिने पनि अध्यक्ष नेवारको भनाइ छ।
शिलान्यास कार्यक्रममा जीराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, ठोरी गाउँपालिकाका कार्यपालिका सदस्य मेघराज सुनुवार, ठोरी गाउँपालिका शिक्षा प्रमुख भूपाल जोशी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय अगुवा, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
