सेढवा, २४ पुस ।
पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय पर्साअन्तर्गतका राष्ट्रिय वन क्षेत्रबाट निस्कने जंगली जनावरका कारण किसानहरू चिन्तामा परेका छन्। विशेषगरी जंगलको सीमासँग जोडिएका बस्तीका किसानहरूले ठूलो मात्रामा बाली क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन्।
यस क्षेत्रका गडुवालाईन, क्षेत्रीलाईन, शान्तिनगर, काठमाडौंटोल, बसन्तपुर, हरैया, सखुवनियाका किसानले लगाएका गहुँ, तोरी, आलु, सुर्ती, राजमा लगायतका हिउँदे बाली जंगली जनावरले खाने, माडेर नष्ट गर्ने गरेकाले किसानहरू पीडित बनेका छन्।
जिराभवानी गाउँपालिका वडा नम्बर–२ की किसान दधिमाया पौडेलका अनुसार रातिको समयमा नीलगाई, घोडगदाहा, चितल, हरिण र बदेलले बालीमा व्यापक क्षति पुर्याउँदै आएका छन्। त्यस्तै बिहानदेखि साँझसम्म जंगलबाट निस्कने मयूर तथा बाँदरको समूहले पनि खेतबाली नष्ट गर्ने गरेको उनले बताइन्।
दिनभरि गुलेली प्रयोग गरी जनावर धपाउने प्रयास गरे पनि रातिको समयमा नियन्त्रण गर्न सम्भव नहुने पौडेलको गुनासो छ। “दिउँसो केही हदसम्म धपाउन सकिन्छ, तर राति बाली जोगाउन निकै कठिन हुन्छ,” उनले भनिन्।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पञ्चमुखी सामुदायिक वन समूहले जंगलको सीमामा जडान गरेको विद्युतीय तारबार विगत दुई वर्षदेखि बिग्रिएको स्थानीयवासीले बताएका छन्। तारबार सञ्चालनमा रहेको बेला जंगली जनावरको आक्रमणमा केही कमी आएको भए पनि हाल मर्मत नहुँदा समस्या झन् बढ्दै गएको उनीहरूको भनाइ छ।
