वीरगञ्ज , भाद्र १
थारु पत्रकार सङ्घ पर्साका सचिव तथा पत्रकार अर्जुन चौधरी स्वर्गीय कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
वीरगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिकाको ४०औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले चौधरीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।
चौधरी विगत ६ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनी वीरगञ्जको प्रख्यात अनलाइन सञ्चारमाध्यम यात्राडेलीमा तीन वर्षभन्दा बढी समयदेखि कार्यरत छन्। साथै, उनी न्युज पर्साका सञ्चालकसमेत हुन्।
पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका चौधरीलाई उनको सक्रियता र योगदानको कदरस्वरूप स्वर्गीय कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
सोही अवसरमा सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गरिएको थियो।
