TharuExpress
Uncategorized

कुटपिट आरोप निराधार रहेको वडाध्यक्ष थारुको दाबी, जग्गा विवादले उब्जियो विवाद

सेढवा, ३० चैत्र /
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजेश्वर दास थारुले आफ्नो भाउजु सुगान्धी देवीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप अस्वीकार गरेका छन्।
आइतबार सुपौलीमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष थारुले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै आफ्नो प्रतिष्ठामा आँच पुर्‍याइएको गुनासो गरे। उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै समाचार प्रकाशन अघि यथार्थ बुझ्न सञ्चारकर्मीलाई आग्रह गरे।
उनका अनुसार शनिबार दिउँसो भाउजु सुगान्धी देवी र उनका जेठा छोरा कृष्ण दास थारुबीच खेतको बाली बुझ्ने विषयमा विवाद भएको थियो। सो समयमा आफू धान खेतमा सिँचाइ गरिरहेको र घटनास्थलमा उपस्थित नरहेको उनले बताए।
पत्रकार सम्मेलनमा वडा सचिव महेश राउत कुर्मीले डेढ बिघा जग्गाको बाली सम्बन्धी विवाद लामो समयदेखि चलिरहेको जानकारी दिए। उनका अनुसार गत कार्तिक महिनामा प्रहरी चौकी सुपौलीमा भएको सहमतिअनुसार धानबाली सुगान्धी देवीले बुझ्ने र गहुँबाली छोरा कृष्ण दास थारु र उमेश दास थारुले बुझ्ने सहमति भएको थियो।
तर अहिले गहुँबाली बुझ्ने क्रममा सुगान्धी देवीले गहुँबाली पनि आफ्नै भएको दाबी गरेपछि पुनः विवाद उत्पन्न भएको वडा सचिव कुर्मीले बताए। विवादपछि बाली हालसम्म पनि नबुझिएको अवस्थामा रहेको छ।
उक्त जग्गाको अंशसम्बन्धी मुद्दा विगत चार वर्षदेखि अदालतमा विचाराधीन रहेको बताइएको छ।
स्थानीय लक्ष्मी दास थारुका दुई छोरा—जेठा ब्रह्मन्द दास थारु र कान्छा राजेश्वर दास थारु—बीच अंशबन्डा भइसकेको छ। ब्रह्मन्द दास थारुको पहिलो पत्नीबाट दुई छोरा (कृष्ण र उमेश) छन् भने कान्छी पत्नी सुगान्धी देवीबाट तीन छोरी र एक छोरा रहेका छन्। दुई पत्नी तथा तिनका सन्तान अलग-अलग बस्दै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु

थारु एक्सप्रेस

संविधानसभा सदस्य जयप्रकाश थारुले त्यागे एमाले, नेकपामा प्रवेश

थारु एक्सप्रेस

थारु कल्याणकारी समिति पर्साको उपाध्यक्ष गौतम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यू

थारु एक्सप्रेस