TharuExpress
Uncategorized

मौषम प्रतिकुल नहुँदा गहुँ बालीमा क्षति, पर्साका किसान उत्पादन र मूल्य दुवैमा मारमा

जिराभवानी, १७ चैत्र /
पर्साको ग्रामीण भेगमा किसानहरूले दोस्रो मुख्य बालीका रूपमा रहेको गहुँबाली भित्र्याउन सुरु गरेका छन्। जिल्लाको उत्तरी भेगमा पर्ने ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका किसानहरू अहिले गहुँ काट्ने र भित्र्याउने कार्यमा व्यस्त देखिएका छन्। अधिकांश किसानले हार्भेस्टर मेसिनको प्रयोग गरी छिटो र सहज रूपमा बाली भित्र्याइरहेका छन्।
उत्पादनमा कमी
यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य गिरावट आएको किसानहरूले बताएका छन्। जिराभवानी गाउँपालिका–१ भवानीपुरका किसान सत्यदेव चौधरीका अनुसार गत वर्षको तुलनामा उत्पादन झण्डै ५० प्रतिशतसम्म घटेको छ। उनले गत वर्ष १२ कट्ठा जमिनबाट १४ क्विन्टल गहुँ उत्पादन भएकोमा यस वर्ष सोही जमिनबाट मात्र ७ क्विन्टल ७० केजी उत्पादन भएको जानकारी दिए।
किसानहरूका अनुसार गहुँमा बाला लाग्ने र फूल्ने समयमा परेको वर्षाले फूल झर्ने समस्या उत्पन्न भएकोले उत्पादनमा कमी आएको हो। मौसमको प्रतिकूल प्रभावका कारण यस वर्ष अपेक्षित उत्पादन हुन नसकेको उनीहरूको भनाइ छ।
गहुँको मूल्यमा गिरावट
उत्पादनसँगै गहुँको बजार मूल्य पनि यस वर्ष घटेको देखिएको छ। ठोरी गाउँपालिका–५ सुवर्णपुरका किसान प्रेम लामाका अनुसार यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल करिब ३ हजार ७ सय रुपैयाँबाट सुरु भएको थियो भने हाल ३ हजार ८ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ।
गत वर्ष भने गहुँको मूल्य प्रतिक्विन्टल ४ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यस्तै, अघिल्लो वर्ष ४ हजार रुपैयाँ प्रतिक्विन्टलमा कारोबार सुरु भएको थियो। यसरी हेर्दा उत्पादनसँगै मूल्यमा पनि गिरावट आउँदा किसानहरू दोहोरो मारमा परेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो सुचारु

थारु एक्सप्रेस

बार डे–२०८२ को अवसरमा वीरगञ्जमा प्रभातफेरी सम्पन्न

थारु एक्सप्रेस

महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु

थारु एक्सप्रेस