TharuExpress
Uncategorized

ठोरीमा पर्यटकको चाप बढ्दो, आन्तरिक तथा भारतीय पर्यटकको आगमन उल्लेखनीय

ठोरी १२ पुस।
मधेश प्रदेशको एक मात्र प्रमुख पर्यटन गन्तव्यका रूपमा परिचित पर्साको ठोरी क्षेत्रमा पछिल्लो करिब एक सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ। स्वदेशतर्फ मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाबाट तथा छिमेकी मुलुक भारतको बिहार र उत्तर प्रदेश राज्यबाट समेत पर्यटकहरू ठोरी भित्रिने क्रम तीव्र बनेको हो।
डिसेम्बर र जनवरी महिना वनभोज, घुमफिर तथा मनोरञ्जनका लागि उपयुक्त मौसम मानिने भएकाले यस अवधिमा ठोरी क्षेत्रमा पर्यटकको चाप बढ्ने गरेको स्थानीयवासीहरू बताउँछन्। विशेषगरी पुस १० गते परेको क्रिसमस पर्वको अवसरमा मात्र एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ठोरी पुगेको अनुमान गरिएको छ।
जिराभवानी गाउँपालिका वडा नं. २ सेढवाका स्थानीय महेश महतो थारुका अनुसार बिहीबार सार्वजनिक बिदा परेकाले उनी परिवारका सम्पूर्ण सदस्यसहित ठोरी घुम्न गएका थिए। ठोरीका विभिन्न भ्यू प्वाइन्टहरूको अवलोकन गर्दै रमाइलो समय बिताई राति घर फर्किएको उनले बताए।
ठोरी गाउँपालिका वडा नं. १ र २ मा पर्यटकका लागि आकर्षक मानिने थुप्रै भ्यू प्वाइन्टहरू रहेका छन्। राई धारा, रानीवन इच्छानगर, चौतारास्थित बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाँडा, सितागुफा, सेतो पहाड, सिन्ही पर्वतलगायतका स्थानहरू यहाँका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छन्।
सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार पछिल्लो एक सातायता ठोरीमा आउने आन्तरिक तथा विदेशी पर्यटकहरूको संख्या निरन्तर वृद्धि भइरहेको छ। इस्वी संवत् अनुसार नयाँ वर्ष जनवरी १ नजिकिँदै जाँदा पर्यटकको चाप अझ बढ्ने अपेक्षा गरिएको उनले बताए। पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक गतिविधिमा समेत उल्लेखनीय चहलपहल बढेको पौडेलले जानकारी दिए।
यस्तै, ठोरीस्थित गाम बेसी फेमिली रेस्टुरेन्ट तथा लजका सञ्चालक मनिष प्याकुरेलले पछिल्लो समय पर्यटकको संख्या बढेसँगै व्यवसाय राम्रो चलिरहेको बताए। स्वदेशी तथा विदेशी पर्यटकका लागि खाना, खाजा र बास बस्ने उचित व्यवस्था रहेकाले कारोबारमा वृद्धि भएको उनको भनाइ छ। लजमा भारतको बेतिया, मोतिहारी, गोरखपुर, नरकटियागञ्ज, जमुनिया तथा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पाहुनाहरू आउने गरेको उनले जानकारी दिए।
पर्यटकको बढ्दो चापले ठोरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको र आगामी दिनमा अझ व्यवस्थित विकास गर्न सकिने स्थानीयवासीहरूको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

रुपन्देहीमा गोली प्रहारबाट एक जना घाइते

थारु एक्सप्रेस

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

थारु एक्सप्रेस

ठोरी–३ मा मध्यराति प्रहरीको छापा, डेढ क्युन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

थारु एक्सप्रेस