जिराभवानी गाउँपालिका, १९ पुस ।
मधेश प्रदेश सरकारका नव नियुक्त वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीलाई आज उनको गृहपालिकामा भव्य रूपमा स्वागत गरिएको छ। जिराभवानी गाउँपालिका वडा नं. ३ स्थित नौकाटोला चोकमा आयोजित स्वागत कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडाध्यक्ष सुरज राय थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री चौधरीलाई खादा, माला तथा टीका लगाएर सम्मानपूर्वक स्वागत गरिएको थियो। सो अवसरमा मन्तव्य व्यक्त गर्दै मन्त्री चौधरीले आफू जनताको मतका आधारमा मन्त्री बनेको उल्लेख गर्दै जनताको हितका लागि भ्रष्टाचारमुक्त र पारदर्शी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
देश हाल विषम परिस्थितिमा रहेको उल्लेख गर्दै मन्त्री चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न सबैसँग आग्रहसमेत गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश पाण्डे, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्ष राजेश्वर दास थारु, दारा सिंह राउत थारु लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
यसैगरी मन्त्री चौधरीलाई गृह नगर जिराभवानी गाउँपालिका वडा नं. २ सेढवामा पनि भव्य स्वागत गरिएको छ। बाजा–गाजासहित गाउँ परिक्रमा गराउँदै आयोजित स्वागत कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति सरोज चौरसियाको सभापतित्व रहेको थियो। कार्यक्रममा मन्त्री चौधरीलाई खादा, गम्छा, माला तथा टीका लगाई सम्मान गरिएको थियो।
यसका अतिरिक्त जगरनाथपुर र ठोरी गाउँपालिकामा समेत मन्त्री चौधरीलाई स्वागत गर्ने कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ।
नव नियुक्त वन तथा वातावरण मन्त्री चौधरीलाई गृहपालिकामा भव्य स्वागत
प्रतिक्रिया लेख्नुहोस
