TharuExpress
Uncategorized मुख्य समाचार

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

जिराभवानी गा. पा., २ फागुन —
पर्सा जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जिराभवानी मन्दिर परिसरमा आइतबारदेखि हरेक बर्ष झै महाशिवरात्रिको अवसरमा एक सातासम्म मेला लाग्दैन छ। जिराभवानी गाउँपालिका–१ र २ को दोसाँधमा अवस्थित उक्त मन्दिर क्षेत्रीय आस्था र सामाजिक–सांस्कृतिक एकताको केन्द्रका रूपमा परिचित छ।
ग्रामीण भेगका थारु समुदायसहित अन्य समुदायबीच व्यापारिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मन्दिरले महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीय बताउँछन्। सबै समुदायका मानिसले यहाँ स्थापित देवी–देवताप्रति गहिरो आस्था र विश्वास राख्दै आएका छन्।

चार सय वर्ष पुरानो किम्बदन्ती

स्थानीय किंवदन्तीअनुसार करिब चार सय वर्षअघि सामान्य मठका रूपमा यसको सुरुआत भएको थियो। त्यसबेला सेढवा, महादेवपट्टी, पिपडाढी, परसवा र जीतपुर लगायतका गाउँहरू घना जंगलभित्र अवस्थित थिए र त्यहाँ मुख्यतः आदिवासी थारु समुदायको बसोबास थियो।
कथाअनुसार महादेवपट्टी निवासी बिशुन महतो माछा मार्न चमरी खोलामा पुगेका थिए। खोलामा जाल हाल्दा पटक–पटक कालो ढुंगा मात्र पर्ने तर माछा नपर्ने घटना दोहोरिएको बताइन्छ। निराश भएर घर फर्किएका उनलाई राति सपनामा उक्त ढुंगा भगवान शिवको शिवलिंग भएको र त्यही स्थानमा मन्दिर निर्माण गर्नुपर्ने सन्देश प्राप्त भएको विश्वास गरिन्छ। भोलिपल्ट शिवलिंग भेटिएपछि सानो झोपडी निर्माण गरी पूजाअर्चना सुरु गरिएको र विस्तारै उक्त स्थान धार्मिक आस्थाको केन्द्र बनेको जनविश्वास छ।

content left

जिरा मिस्त्री र नामकरणको प्रसंङ्ग

मठ स्थापना भएको करिब ४०/५० वर्षपछि स्थानीयवासीले धान–गहुँ संकलन गरी पक्की मन्दिर निर्माण गरेका थिए। निर्माण कार्य सम्पन्न भएपछि ‘जिरा’ भनिने एक मिस्त्रीको मृत्यु भएपछि समुदायमा विभिन्न अड्कलबाजी चलेको थियो। त्यसपछि भवानी दुर्गाको स्थापना गरी मन्दिरलाई ‘जिरा भवानी माइ’ नाम दिइएको र शिव मन्दिर ‘बाबा बटेश्वर नाथ’का रूपमा परिचित हुन थालेको स्थानीय बताउँछन्।
मन्दिर स्थापना पश्चात् यस क्षेत्रलाई विभिन्न संकटबाट देवी–देवताले जोगाउँदै आएको जनविश्वास छ। वर्षभरि नेपालका विभिन्न जिल्ला तथा भारतको बिहार र उत्तर प्रदेशबाट समेत श्रद्धालु यहाँ आउने गरेका छन्।

कृषि सामग्रीका लागि प्रसिद्ध मेला

महाशिवरात्रिदेखि सुरु हुने मेलामा स्थानीय किसानले आफ्नो मुख्य बाली धानको पहिलो अंश स्वरूप बालाको झोटी चढाउने परम्परा रहिआएको छ। वर्षैभरि भक्तजनको आवतजावत रहने भए पनि शिवरात्रिदेखि करिब दस दिनसम्म ठूलो मेला लाग्ने गर्छ।
मेलामा कृषि तथा घरेलु सामग्रीको कारोबार विशेष हुने गरेको छ। किसानहरूले वर्षभरि प्रयोग हुने कोदालो, बन्चरो, हसिया, हलोमा लगाउने फाली, हेङ्गा, खुर्पी लगायत सामग्री किन्ने गर्छन्। भाँडाकुँडातर्फ गाग्री, बाल्टिन, कराही, थाल, कुकर आदिको पनि राम्रो व्यापार हुन्छ। फलफूलमध्ये बयर, भाँडाकुँडामा कराही र कृषि सामग्रीमा कोदालो यस मेलाका प्रमुख आकर्षण मानिन्छन्।

संरक्षणमा स्थानीयको पहल

करिब १० बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा लाखौँ मूल्य बराबरको बगैंचा भए पनि राष्ट्रिय स्तरबाट संरक्षणमा अपेक्षित पहल नदेखिएको स्थानीयको गुनासो छ। यद्यपि स्थानीयवासीको चन्दा संकलनबाट आधा दर्जनभन्दा बढी देवी–देवताको मन्दिर, पर्खाल, विवाह मण्डप, चौतारा र प्रतिक्षालय निर्माण भइसकेका छन्। खुला दिसामुक्त अभियानअन्तर्गत तत्कालीन जिविस पर्साले पाँचकोठे पक्की शौचालय पनि निर्माण गरेको थियो।
संघीयता लागू भएसँगै मन्दिर संरक्षणमा सुधारका प्रयास सुरु भएका छन्। स्थानीय तथा प्रदेश सरकारबाट केही संरचनात्मक विकासका काम भइरहेका छन्। मन्दिरको संरक्षण र संवर्द्धनका लागि दुई वर्ष अगाडी वैधानिक रूपमा समिति गठन गरिएको छ। सो समितिले सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै मन्दिर परिसरमा आठ वटा सिसिटिभी क्यामरा जडान गरिएको छ।

जिराभवानी मन्दिरकै नामबाट गाउँपालिकाको नामकरण गरिएको तथ्यले पनि यसको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउँछ। यस वर्षको महाशिवरात्रि मेलालाई व्यवस्थित र भव्य बनाउन स्थानीयस्तरमा तयारी तीव्र पारिएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

आठ वर्षदेखि अलपत्र घोडेमसान सिँचाइ आयोजना : किसानकै प्रयासमा खेतमा पानी

थारु एक्सप्रेस

जिराभवानी गाँउपालिकाबाट मंगलबार लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ

थारु एक्सप्रेस

रुपन्देहीमा गोली प्रहारबाट एक जना घाइते

थारु एक्सप्रेस