जिराभवानी १६ माघ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। उम्मेदवारहरू कार्यकर्ता परिचालन र मतदाता भेटघाटमा सक्रिय देखिएका छन्। पर्सा सदरमुकाम वीरगञ्जदेखि पश्चिमी ग्रामीण क्षेत्रसम्म फैलिएको यो निर्वाचन क्षेत्रमा करिब ९५ हजार मतदाता रहेका छन्। किसान, मजदुर तथा मध्यम वर्गको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा विगतदेखि नै नेपाली कांग्रेस र वामपन्थी दलबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। यसपटक भने बहुपक्षीय प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ।
नेपाली कांग्रेसले यसपटक पनि अनुभवी नेता रमेश रिजाललाई उम्मेदवार बनाएको छ। पार्टी संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत बैंक कांग्रेसको मुख्य आधार मानिन्छ। ३ दशक लामो राजनीतिक अनुभव बोकेका रिजाल २०४८ सालदेखि हालसम्म आठ पटक निर्वाचन मैदानमा उत्रिसकेका छन्। २०७९ सालको निर्वाचनमा उनले नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
नेकपा एमालेले संगठनात्मक बल र अनुशासित कार्यकर्तालाई आधार बनाएर जालिम मियाँ मन्सुरीलाई मैदानमा उतारेको छ। मजदुर र निम्न आयवर्गमा एमालेको प्रभाव देखिए पनि केन्द्रीय राजनीतिमा आएको उतारचढाव र अघिल्लो कार्यकालका काममाथि उठेका प्रश्नले एमालेको चुनावी यात्रा सहज देखिँदैन। यद्यपि, कांग्रेस–एमालेबीच सिधा प्रतिस्पर्धा भए मन्सुरीको संगठनात्मक सक्रियताले कडा टक्कर दिने अनुमान गरिएको छ।
यता, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार जयप्रकाश थारू पनि मतदाताको रोजाइमा पर्ने सम्भावना बोकेका छन्। जिराभवानी गाउँपालिका निवासी ६५ वर्षीय थारू स्थानीय राजनीतिमा परिचित अनुहार हुन्। २०६४ सालमा एमालेबाट संविधानसभा निर्वाचन लडेका थारूले २०७० सालमा विजय हासिल गरेका थिए। पछिल्ला प्रदेशसभा निर्वाचनमा पराजय बेहोरे पनि उनी निरन्तर राजनीतिक संघर्षमा सक्रिय छन्।
यसैगरी, जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार डा. कृपासिन्धु चौधरीको उपस्थितिले यस क्षेत्रको निर्वाचनमा तरङ्ग पैदा भएको छ। ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व क्याम्पस प्रमुख तथा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य डा. चौधरी शिक्षित र बौद्धिक छविका नेताका रूपमा परिचित रहेको छ। दक्ष तथा योजना निर्माण गर्ने कार्यमा लामो समयको अनुभव भएको डा. चौधरीको उम्मेदवारीले अन्य दलका उम्मेदवारहरुलाई ठूलो चुनौती दिएको देखिन्छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पर्सा–४ मा उल्लेख्य प्रभाव छाड्ने आकलन गरिएको छ। सुशासन र पुराना दलप्रतिको असन्तुष्टिलाई मुख्य एजेन्डा बनाएको रास्वपाले युवा तथा शिक्षित मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ। पूर्व माओवादी नेता टेकबहादुर शाक्यको उम्मेदवारीले रास्वपाको उपस्थितिलाई थप बल दिएको छ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टी ले पनि उम्मेदवार उठाएको छ। ठोरी गाउँपालिकामा प्रभाव जमाएका विष्णु लोप्चनको उम्मेदवारीले सीमित भए पनि फरक मत तान्ने दाबी गरिएको छ।
प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका पुराना अनुहार र नयाँ उम्मेदवारहरूको उपस्थितिले पर्सा–४ को चुनावी भिडन्त यसपटक निकै रोचक र अनिश्चित देखिएको छ।
