पुस २३, ठोरी।
पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ३ मा रहेको एक घरमा प्रहरीले मध्यराति छापा मारेर ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
ठोरी–३ ब्रह्मनगर निवासी छिरिङ दोङको काठले बनेको दुई तल्ले घरमा छापा मार्दा प्रहरीले कुल १ सय ५७ किलो ९ सय ५० ग्राम गाँजा बरामद गरेको हो। घटनापछि घरधनी ४२ वर्षीय छिरिङ दोङ फरार रहेका छन् भने उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा मंगलबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उक्त घरमा छापा मारेको थियो। छापाका क्रममा घरको माथिल्लो तलाको कोठाभित्र नीलो रंगको प्लास्टिकले बेरेर राखिएको ९५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
त्यसपछि घरछेउकै खेतमा उखुको पातले छोपेर लुकाइ राखिएको अवस्थामा रहेका १० वटा पोकामा १ सय ५७ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार दोङले लागू औषध तस्करीमा संलग्न व्यक्तिहरूलाई बिक्री गर्नका लागि उक्त गाँजा घरमा भण्डारण गरेर राखेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
ठोरी–३ मा मध्यराति प्रहरीको छापा, डेढ क्युन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार
प्रतिक्रिया लेख्नुहोस
