TharuExpress
Uncategorized

अंग्रेजी नयाँ वर्ष २०२६ मा पर्साका पर्यटकीय स्थलमा पर्यटकको भीड, ठोरीमा एक लाखभन्दा बढि पर्यटकहरूको आगमन

सेढवा, १७ पुस ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पर्सा जिल्लाका विभिन्न पर्यटकीय स्थलमा स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय भीड लागेको छ। विशेषगरी ठोरी गाउँपालिकाभित्र पर्ने राईधारा, रानीवन (इच्छानगर), चौताराको बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाडा, सितागुफा, सेतो पहाड, सिनही पर्वत, राई धारा, ठुटे खोला, बाघमोर्चा माई मन्दिर परिसर तथा गडुवालाईन क्षेत्रमा आज बिहानदेखि साँझसम्म पर्यटकहरूको चहलपहल देखिएको छ।
सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार पछिल्ला दुई सातादेखि ठोरी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ। जनवरी १ तारिखका दिन मात्र करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू नयाँ वर्ष मनाउन ठोरी आएको अनुमान गरिएको उनले बताए। अघिल्ला वर्षहरूको तुलनामा यस पटक ठोरीमै बास बस्ने पर्यटकहरूको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको पौडेलको भनाइ छ।
मधेश र बागमती प्रदेशका विभिन्न जिल्लासँगै छिमेकी मुलुक भारतको बिहार, उत्तर प्रदेश तथा दिल्लीसम्मबाट समेत पर्यटकहरू ठोरीमा नयाँ वर्ष मनाउन आएका छन्। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जंगल, सब–डिभिजन वन कार्यालय बसन्तपुर अन्तर्गतको वन क्षेत्र तथा जिराभवानी गाउँपालिका भित्र पर्ने सुगीभार मन्दिर परिसरमा पनि नयाँ वर्ष मनाउने र वनभोज खानेको बाक्लो उपस्थिति देखिएको थियो।
यसैगरी पटेर्वासुगौलीस्थित गढीमाई मन्दिर, रंगपुरको भुमरी माई पिकनिक स्पट, पर्सागढी नगरपालिकाभित्र पर्ने कोइलाभार माई मन्दिर तथा आमोदेवी माई मन्दिर क्षेत्रमा पनि पिकनिक खाने र रमाइलो गर्नेहरूको भीड लागेको छ। पर्यटकहरूले खाने–पिउने, डिजे बजाउने तथा मनोरञ्जनात्मक गतिविधि गर्दा यी क्षेत्रहरूको माहोल नै रमणीय बनेको स्थानीयले बताएका छन्।
नयाँ वर्षको अवसरमा हरेक उमेर समूहका मानिसहरू समूह बनाएर तय गरिएका स्थानतर्फ बिहानैदेखि वनभोज खान निस्किएका थिए। ग्रामीण भेगका हुलाकी सडकहरूमा यातायातको चाप पनि उल्लेख्य रूपमा बढेको थियो। ट्याक्टर, कार, जिप, मोटरसाइकल तथा साइकल प्रयोग गरी वनभोजमा जानेहरूको भीड देखिन्थ्यो।
अत्यधिक जाडोका कारण विद्यालयहरूमा बिदा रहेकाले धेरै विद्यार्थीहरू नयाँ वर्ष मनाउने उद्देश्यले वनभोजमा सहभागी भएका छन्। ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूले जंगल नजाँदै आसपासका बगैंचा, मन्दिर तथा खेतबारीमा गएर भतरिग्ङी (वनभोज) खाई नयाँ वर्ष मनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

आयुर्वेदिक चिकित्सा पद्धति प्रति नागरिकहरुको बिश्वास गर्दै

थारु एक्सप्रेस

बाली बिमाको रकम नपाएपछि बाराको किसानहरु आन्दोलनमा उत्रिए

थारु एक्सप्रेस

लामो समयदेखि पानी नपर्दा ग्रामीण भेगमा खडेरी, भूमिगत सिचाई महंगो हुदा किसान चिन्तित

थारु एक्सप्रेस