TharuExpress
समाचार

ठोरीको ज्ञानवाटिका माविमा ५५ लाखको पक्की भवन उद्घाटन, कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री निःशुल्क

बीरगंज , श्रावण २९

पर्साको ठोरी गाउँपालिका–५ मा रहेको ज्ञानवाटिका माध्यमिक विद्यालयको नवनिर्मित पक्की भवन उद्घाटन गरिएको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको चारकोठे पक्की भवनको उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।

सोही अवसरमा गाउँपालिका अध्यक्ष श्रेष्ठले विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा प्राप्त शैक्षिक सामग्री कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो। विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर पूर्वविद्यार्थी तथा विभिन्न दाताहरूको सहयोगमा सामग्री उपलब्ध गराइएको विद्यालयले जनाएको छ।

content left

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेवारको अध्यक्षतामा आयोजित कार्यक्रममा ठोरी–५ का वडाध्यक्ष अष्टबहादुर लोप्चन, कार्यपालिका सदस्य मेघराज सुनुवार, वडा सदस्यहरू निशा खड्कालालमुनी देवी, सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिन, समाजसेवी लेखमान थापालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति थियो।

कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्रीमा आर्थिक भार नपर्ने

ज्ञानवाटिका माध्यमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीले निःशुल्क शिक्षा प्राप्त गर्नुका साथै विद्यालयका लागि आवश्यक हाउस ड्रेस, कापी, कलम, जुत्ता र झोला समेत खरिद गर्नुपर्ने अवस्था नहुने भएको छ। पूर्वविद्यार्थी तथा स्थानीय संस्थाहरूको सहयोगका कारण विद्यार्थीलाई आवश्यक पोसाक र शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउन थालिएको हो।

पूर्वविद्यार्थी तथा विभिन्न व्यवसायी बुद्ध शम्शेर योञ्जन, हाल अमेरिकामा बस्दै आउनुभएका कृष्ण योञ्जन, ओमबी स्विमिङका सञ्चालक विक्रम बोम्जन, मेरिका ट्रेडर्सका सञ्चालक मनोज बस्नेत र श्रेष्ठ जनरल स्टोर्सका सञ्चालक जीवन श्रेष्ठलगायतको ८९ हजार रुपैयाँ सहयोगबाट विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री खरिद गरी वितरण गरिएको हो।

उक्त सहयोगबाट कक्षा ५ सम्म अध्ययनरत ४३ जनाभन्दा बढी विद्यार्थीले एक शैक्षिक सत्रसम्म पुग्ने आवश्यक शैक्षिक सामग्री प्राप्त गरेका छन्। विद्यार्थीको शिक्षामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थी तथा स्थानीय समुदायबाट निरन्तर सहयोग भइरहेको विद्यालयले जनाएको छ।

यसअघि सुनाखरी उपभोक्ता समितिले कक्षा ५ सम्मका विद्यार्थीलाई हाउस ड्रेससमेत उपलब्ध गराएको थियो। समितिले विद्यालयका ६ दर्जनभन्दा बढी विद्यार्थीलाई नगद छात्रवृत्तिसमेत वितरण गरिसकेको छ।

नवनिर्मित भवनसँगै विद्यार्थीका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार हुनु र पूर्वविद्यार्थी तथा स्थानीय समुदायको सहयोगबाट शैक्षिक सामग्री उपलब्ध हुनुले ज्ञानवाटिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु कल्याणकारणी सभा पर्सा द्वारा होलि मिलन कार्यक्रम सम्पन्न …….

थारु एक्सप्रेस

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

थारु एक्सप्रेस

पोखरीमा नुहाउने क्रममा १ बलिकाको मृत्यु

थारु एक्सप्रेस