सेढवा, माघ १
“थारु एकता और मौलिकता हमनीके शान, थारु भाषा, संस्कृति और परम्परा हमनीके पहिचान” भन्ने नाराका साथ पर्साको पटेर्वासुगौली गाउँपालिकामा थारु सम्बत २६५० को नयाँ वर्ष तथा पाँचौँ माघी खिचडी महोत्सव हर्षोल्लासका साथ मनाइएको छ।
पटेर्वासुगौली गाउँपालिकाको आयोजनामा वडा नं. ४ स्थित खुला मैदानमा सम्पन्न कार्यक्रम गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्व तथा साविक गा.वि.स. पटेर्वासुगौलीका भू–पू अध्यक्ष एवं ज्येष्ठ नागरिक परमेश्वर गौरोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय थारु कलाकार स्वस्तिका चौधरी, राष्ट्रिय थारु कलाकार तथा गायक सागर चौधरी र नेपाली निरहुवाले प्रस्तुति दिँदै दर्शकलाई झुमाएका थिए।
कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय स्थानीय नृत्य समूहहरूबीच नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। प्रतियोगितामा पकडिया युनिक ग्रुप प्रथम, ब्रह्मबाबा समूह फरहदवा द्वितीय तथा गुदरबाबा समूह सुगौली तृतीय भएका छन्। प्रथम हुने समूहलाई २१ हजार रुपैयाँ, द्वितीयलाई ११ हजार र तृतीयलाई ७ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो।
माघी मेलामा थारु परम्परागत खानाका परिकारअन्तर्गत हाँस, कुखुरा, परेवा, घोंगी तथा साना माछाका परिकारका स्टलहरू राखिएका थिए। साथै गाउँपालिकाको सहयोगमा उत्पादन गरिएका मसला तथा स्वच्छ (हाइजेनिक) तरकारीका स्टलसमेत राखिएको थियो।
माघी मेलामा रक्तदान कार्यक्रम
माघी मेलाको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। नवजागृत युवा क्लब, पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ को आयोजनामा तथा गाउँपालिकाको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका आयोजकले जनाएका छन्।
पटेर्वासुगौलीमा थारु सम्बत २६५० तथा पाँचौँ माघी खिचडी महोत्सव सम्पन्न
प्रतिक्रिया लेख्नुहोस
